सिमकोट । जिल्लाका सातवटै गाउँपालिकामा रहेका सामुदायिक तथा निजी विद्यालयहरुले पूर्णरुपमा स्वास्थ्य मापदण्डको पालना गरेर शैक्षिक संस्था सञ्चालनमा ल्याउन सकिने भएको छ ।
जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीएमसी) हुम्लाले जिल्ला भित्रका सबै विद्यालयमा पठन पाठन सञ्चालनको लागि गाउँपालिकाले आफ्नो अनुकुलता हेरी सञ्चालन गर्न सक्ने गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको बैठकले कोभिड संक्रमणमा कमि आए पछि लामो समय देखि बन्द रहेका विद्यालय सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी समेत रहेका कोभिड १९ व्यवस्थापन केन्द्रका संयोजक गणेश आचार्यले बताउनुभयो । उहाँले कोभिड संक्रमण कम हुँदै गइरहेको र सबैतिरबाट विद्यालय खुलाउनु पर्ने माग आएकोले केन्द्रको बैठकबाट विद्यालय खुलाउने निर्णय गरिएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाका सात वटै गाउँपालिकालाई विद्यालय सञ्चालनका लागि पत्र लेख्ने र अवस्था विश्लेषण गरी गाउँपालिकाले विद्यालय सञ्चालनको लागि सहज हुने छ । केन्द्रले विद्यलाय सञ्चालनको लागि निर्णय गरेपनि गाउँपालिकाहरुले विद्यालय खुलाउँदा कोरोनाको अवस्था हेरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्ने र त्यसै अनुरुपको वातावरणका तयार गरेर मात्र विद्यालय सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
हुम्ला जिल्लाका सात वटा गाउँपालिकामा १३७ वटा सामुदायिक विद्यालय रहेका छन् भने केही निजी विद्यालय पनि रहेका छन् । यसअघि ताँजाकोट गाउँपालिकाका सबै बिद्यालय र नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका दुई वटा गाउँमा भने कोरोनाको अवधिमा पनि विद्यालयहरु सुचारु रहेका थिए ।