सिमकोट । कोरोना महामारीले बन्द रहेका सिमकोट गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय यही भदौ २७ गतेबाट सञ्चालनमा आउने भएको छन् ।
बुधबार बसेको सिमकोट गाउँपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । पालिकामा सामुदायिक २३ र निजी पाँच गरी २८ विद्यालय छन् । ती सबै विद्यालयले सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्ने निर्णय भएको सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिनुभयो ।
गाउँपालिका भित्र रहेका विद्यालयहरुले स्वास्थ्य मापण्दको पूर्ण पालना गरेर विद्यालय सञ्चालन गर्नु पर्नेभएको छ । यसभन्दा अगाडि गाउँपालिकाले गत वर्षको कात्तिक १९ गते र माघ १५ गतेबाट विद्यालय सञ्चालन गरेर एक हप्तासम्म पठनपाठन गरेको भए पनि जिल्लामा कोरोना संक्रमण तीब्ररुपमा फैलिएपछि पुन बन्द गरीएको थियो ।
जिल्लास्थित कोभिड १९ संकट व्यवस्थापन केन्द्र ( डिसीसीएमसी ) को सोमबार बसेको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न दिने निर्णय परेपछि बुधबार बसेको सिमकोट गाउँपालिकाको शिक्षा समितीको बैठकले २७ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको हो । गएको सोमबार डिसीसीएमसीले जिल्लाका सातवटै गाउँपालिकाले संक्रमणको अवस्था हेरी विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको थियो ।
जिल्लामाा फागुन पहिलो सातामा नयाँ शैक्षिक सत्र शुरु भई मङ्सिरमा वार्षिक परीक्षा भएर हिउँदे तीन महिना बिदा हुने गर्दथ्यो । तर यो वर्ष असारमा नयाँ शैक्षिक सत्र शुरु भएको छ । कोरोना संक्रमणले हुम्लाको शिक्षा क्षेत्र थिलथिलो बनेको छ ।