एजेन्सी । युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड युरोकप फुटबल प्रतियाोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
रोममा गएराति भएको अन्तिम क्वाटरफाइनल खेलमा युक्रेनलाई ४ शुन्य गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।
इंग्ल्यान्डलाई सानदार जित जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गरे ।
त्यस्तै ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे ।
स्टाडियो ओलम्पिकको स्टेडियममा चौंथो मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । रहिम स्ट्रर्लिङको पासमा उनले गोल गरेका हुन ।
दोस्रो हाफमा भने इंग्ल्यान्डले लगातार गोलको बर्षा गर्यो ।
खेलको ४६औं मिनेटमा डिफेन्डर मग्वाएरले गोल गर्दै इंग्ल्यान्डलाई २ शुन्यको अग्रता दिलाए । लुक शको फ्रिकिक पासमा उनले हेडमार्फत गोल गरेका हुन ।
त्यस्तै खेलको ५०औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको अग्रता तेब्बर बनाए । उनले लुक शकै पासमा हेडमार्फत गोल गरेका हुन ।
त्यसपछि खेलको ६३औं मिनेटमा परिवर्तित खेलाडी हेण्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई ४ शुन्यको जित दिलाए ।
खेलको ५७औं मिनेटमा राइसको स्थानमा मैदान पसेका हेण्डरसनले मासन माउन्टको कर्नरमा हेडमार्फत गोल गरेका हुन । इंग्ल्यान्डका लागि उनको यो पहिलो गोल हो ।
यससँगै इंग्ल्यान्डले २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गर्ने अवसर पाएको छ । यसअघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनलमा पुगेको थियो ।
अब इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । चेक रिपब्लिकलाई २/१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ ।
यसअघि राउण्ड अफ १६ मा इंग्ल्यान्डले उपाधि दाबेदार जर्मनीलाई २ शुन्य गोल अन्तरले पराजित गर्दै अन्तिम आठको यात्रा पक्का गरेको थियो।
युक्रेनले भने स्विडेनलाई २/१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डसँगको भेट पक्का गरेको बिबिसीले जनाएको छ ।