काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज हङकङसंग खेल्दैछ ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले आज हङकङविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार आज दिउँसो ३ः४५ बजे सुरु हुनेछ।
एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रने छ । एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको छ।
समूह एफ मा रहेको नेपालले पहिलो खेलमा फिलिपिन्सविरुद्ध खेलेको थियो। जुन खेलमा नेपाल २/१ गोल अन्तरले हारेको थियो। अन्तिम केही मिनेट सम्हालिन नसक्दा नेपाल सुरुवाती अग्रता बनाएर पनि पराजित हुन पुगेको थियो।
फिलिपिन्सविरुद्धको हारसँगै नेपाल दबाबमा रहेको छ। छनोटको आशा कायम राख्न नेपालले आजको खेल जित्नै पर्छ । नेपाललाई जितले मात्र पुग्दैन। फिलिपिन्स र हङकङबीचको खेलमा समेत भर पर्नु पर्नेछ।
यस समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।
बलियो टिम हङकङविरुद्ध जित निकाल्न नेपाललाई सजिलो भने छैन। हङकङविरुद्धको हेड टु हेडमा समेत नेपाल कमजोर रहेको छ।
नेपालले यस अघि हङकङविरुद्ध दुई खेल खेलेको थियो। दुबै खेलमा नेपालले हार व्यहोरेको थियो।
सन् १९८६ मा भएको पहिलो भेटमा नेपाल हङकङसँग १/० गोल अन्तरले पराजित भएको थियो। त्यस्तै सन १९८९ मा भएको दोस्रो भेटमा नेपाल हङकङसँग ३/० गोल अन्तरले पराजित भएको थियो।