सिमकोट । नेपाल उच्च भेगमा रहेको हिमाली जिल्ला हुम्लामा बहुविवाह गर्नेको संख्यामा वृद्धि देखिएको छ । उमेर नपुगी सानै उमेरमा विवाह गर्ने गरेकै कारण पछि गएर बहुविवाह हुने गरेको पाइन्छ । गत वर्ष जिल्ला प्रहरी कार्यालय हुम्लामा बहुविवाहका ४ वटा मुद्दा दता भएका छन् ।
दर्ता भएका सबै मुद्दा फच्छ्र्यौट भइसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्बा शर्माले बताए । हुम्लामा बालविवाहकै कारण बहुविवाह र सम्बन्धविच्छेदका घटना बढेको पाइन्छ । यो आर्थिक वर्षमा अहिलेसम्म दुईवटा मात्रै दर्ता भएको बताइएको छ ।
गत वर्ष मात्रै घरेलु हिंसा सम्बन्धि जिल्ला प्रहरी कार्यालय हुम्लामा ८ वटा उजुरी दर्ता भएको पाइन्छ भने ति सबै मिलापत्र गरी पठाइएको बताइएको छ । यि ८ वटा श्रीमान श्रीमति,दिदि बहिनी, जेठाजु बुहारी विच आपसी द्धन्द्धका घटनाहरु दर्ता भएका हुन् ।
गाउँमा बालविवाहको स्थिती भयावह हुने गरे पनि उजुरीका लागी प्रहरी सम्म नपुग्ने गरेको भएपनि पछि गएर बहुविवाह हुनुको मुख्य जड नै बालविवाह रहेको अधिकारकर्मीहरुको भनाई रहेको छ ।
यस्तै जिल्लामा महिला सम्बन्धि काम गर्ने संस्थाहरुले हुम्लामा बहुविवाह गर्नेहरुको संख्या उल्लेखनीय रहेको बताउने गरेका छन् । तर प्रहरी र अदालतसम्म घरेलु हिंसा, महिला हिंसा, बालविवाह र बहुविवाहका घटना कम उजुरी दिन आउने गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
वहुविवाहको तुलनामा हेर्ने हो भने हुम्ला प्रहरी तथा सम्बन्धित निकायमा बालविवाहका घट्ना अहिले सम्म कुनैपनि दर्ता नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । गाउँमा वालविवाह गर्ने चलन ब्याप्त भएपनि बाहिर ल्याउन र सम्बन्धित निकायसम्म उजुरी दर्ता हुन नसकेपनि यसको अवस्था झन विकराल बन्दै गएको पाइन्छ । तर जिल्ला प्रहरी कार्यालयमा उजुरी कम पर्ने गरेको पाइन्छ । गाउँघरको विवाद गाउँकै जानमान र भद्रभलादमी पञ्चबसी मिलाउने चलन अझै पनि कायम रहेको छ ।
सानैमा विवाह गरेकै कारण बीचैमा अध्ययन रोकिने, रोजगार वा आत्मनिर्भरका लागि स्वरोजगारीका सीप, ज्ञानसमेत नहुँदा आर्थिक कठिनाइले पारिवारिक कलह हुने गरेकाले सम्बन्ध बिच्छेद वा बहुविवाहको अवस्था सिर्जना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शर्माले बताए । हुम्लामा बालविवाह हुने गरेको भएपनि यसको एकिन तथ्यांक प्रहरी छैन् । किन भने प्रहरी समक्ष दर्ता हुन् आउँदैन् ।
स्वास्थ्यचौकीमा ५० प्रतिशत बालिकामै गर्भजाँच
सातवटा गाउँपालिका रहेको ४४ वडाका स्वास्थ्यचौकीमा ५० प्रतिशत उमेर नपुगेका बालिका गर्भजाँच गराउन आउने गरेको पाइन्छन् । २६ वटा स्वास्थ्यचौकी र एउटा जिल्ला अस्पताल रहेको हुम्लामा ५० जना गर्भवती महिला गर्भ जाँचका लागी आउँदा २५ जना उमेर नपुगि बच्चा पाउने गरेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनुभयो । सानै उमेर विवाह गरेर हतारमा बच्चा पाउनेले उनिहरुको प्रजनन स्वास्थ्यमा समेत असर पर्ने गरेको अनमी बोहराले बताईन् ।
नेपाल सरकारले दिने सेवा सुविधा गर्भवती महिलालाई वितरण गर्ने समयमा उनिहरुको प्रमाण्को लागी नागरीक खोज्दा नबनाएको पाइने र सानै उमेरमा विवाह गरेको पाइने गरको अनमी बोहराले बताईन् ।
घरेलु हिंसा पिडित महिलाई निःशुल्क आवास
जिल्लामा सञ्चालीत नेपाल अष्ट्रिया साँझेदारी संस्थाले असार ९ गते देखि असोज १ गतेसम्म घरेलु हिंसा तथा बहुविवाहबाट पिडीत ६ जना महिलालाई आवासको व्यस्था गरेको थियो ।
चार महिनाको अवधिमा ६ जना पिडीत महिलाहरु आफु कहाँ उजुरी दिन पुगेको र आफुले उनिहरुलाई पालनपोषण गरेको नेपाल अष्ट्रिया साँझेदारी संस्थाद्धारा सञ्चालीत सुरक्षित महिला आवास गृहका फोकल पर्शन डिचिन डोल्कार लामाले बताउनुभयो । यि ६ जना मध्ये चार जना बहुविवाह, एक बलात्कार, र एक जना सासुसशुराले हेला गरेको महिला गरेका हुन् ।
उनले भनिन्, “तर यो तथ्यांकले जिल्लामा बहुविवाहको अवस्था विकराल रूप देखाउँछ, बहुविवाहलाई दण्डनिय अपराध पनि मानिन्छ” । तर अहिले पनि हुम्लामा ठुलो संख्यामा बहुविवाह हुने गरेको पाइएको छ ।”
चारवर्षको एक छोरी र सुत्केरी अवस्थामै २१ दिनको छोरो लिएर श्रीमानले बहुविवाह गरेको भन्दै गुनासो पोख्न आएको बताउनुभयो । सोही संस्थाको अल्पकाली सेवा अन्तरगत घरेलु हिंसामा परेका महिलाहरुलाई ४५ दिनसम्म सेवा दिने गरेको छ । दुईवटा बच्चा जन्मिएको भएपनि श्रीमानले अर्को विवाह गरेको गुनासो पोखेको लामाले बताईन् ।
पिडीत महिलाहरु आफु कहाँ आवासका लागी आउने गरेको र पछि गएर जिल्ला प्रहरी कार्यालय वा अदालतमा मुद्दा दर्ता गर्ने गरेका छन् । कतिपय महिलाहरुले जिप्रका र अदालतमा उजुरी दिएपछि आवासका लागी समेत अष्ट्रिया साँझेदारी संस्थामा पुग्ने गरेको फोकल पर्शन लामाले जानकारी दिईन् ।
जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेपछि आवासका लागी आफुहरुले पिडीत महिलाहरुलाई सेवा दिदै आएको लामाले बताईन् ।
दुई, तीन बच्चा जन्माई सकेपछि पनि बहुविवाह हुने गरेको पाइन्छ । उमेर नपुगी विवाह गरेर बच्चा जन्माउँदा उनिहरुको पालन पोषण देखि बालविवाहकै कारण किशोरीको स्वास्थ्य अबस्था , घरको आर्थिक अवस्थालगायतका समस्याले घरेलु हिंसा बढेर वहुविवाहका घट्नाहरु बढ्ने गरेको लामाले बताईन् ।
असार महिनादेखि यता चारजना बहुविवाह,एक जना बलात्कार, र एक जना सासुससुराबाट अपहेलित महिलालाई आवास दिएको बताइएको छ । अष्ट्रिया साँझेदारी संस्थाले हिंसामा परेका महिलाहरुलाई गाँस,वास र कपालको व्यवस्था गर्दै आएको छ ।
उसो त यो संस्थाले अति आर्थिक अवस्था कम्जोर भएका महिलाहरुलाई आवतजावतमा लाग्ने खर्च समेत दिने गरेको पाइन्छ । पिडीत महिलासँगै उक्त आवासमा बसीरहेका बालबालिकालाई समेत लत्ता कपडा,खान बस्नको निःशुल्क गरीदै आएको छ ।
यस्तै सिमकोट गाउँपालिका अन्तरगत रहेको ‘महिला तथा बालबालिका संरक्षण’का लागी सञ्चालीत अल्पकालीन सेवा केन्दले साउन यता एक जना मात्रै महिलालाई हेरचाहगरेका छ । गत आर्थिक वर्षमा महिला तथा बालबालिका गरेर १५ जनालाई सेवा दिएको सोही सेवा केन्द्रका प्रमुख कार्माइटोल लामाले बताईन् । आफुहरुले पिडीतमा परेका महिलाहरुलाई एक हप्तासम्म आवास दिने गरेको बताईन् ।
बहुविवाहलाई कानुनि सजाय
मुलुकी ऐन २०२० अनुसार बहुविवाह गर्नेलाई एक वर्षदेखि तीन वर्षसम्म कैद वा पाँच हजारदेखि २५ हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ । २०७५ भदौ १ गतेदेखि लागू हुने ‘मुलुकी अपराध सहिंता ऐन २०७४’ को दफा १७५ मा बहुविवाह गर्ने कसुरदारलाई गरिने सजाय बढाएर एक वर्षदेखि पाँच वर्षसम्म कैद वा १० हजारदेखि ५० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी प्रावधान राखिएको छ ।
स्थानीय तह घरेलु हिंसा न्यूनिकरणमा बेखर
महिला तथा बालबालिका माथि हुने विभिन्न खाले हिंसा न्यूनिकरणका लागी जिल्लाका स्थानीय तहले चासो नदेखाएको पाइन्छ । जिल्लाका ग्रामिण वस्तिहरुमा महिला माथि श्रीमानले विभिन्न खाले हिंसा गरेको पाइएपनि लुकिछिपिमा मिलापत्र गर्ने चलन रहेको छ ।
घरेलु हिंसा, बालविवाह,बहुविवा न्यूनिकरणका लागी यहाँका स्थानीय तहले औपचारिकतामा सीमित चेतनामूलक कार्यक्रमले ग्रामीण क्षेत्रमा छुन नसकेको पाइन्छ । घरेलु हिंसाको मुख्य जड वालविवाह अन्त्य गर्न आवश्यक रहेको बताइएको छ ।
बालविवाह न्यूनीकरणका लागि विभिन्न संघसंस्थाले हुम्लामा सचेतनाका कार्यक्रम गर्दै आएका छन् । गाउँपालिकाले पनि अभियान चलाएका छन् । सडक नाटकदेखि घरदैलोजस्ता कार्यक्रमहरु पनि बारम्बार भइरहेका छन् । तर, बालविवाह न्यूनीकरण हुन सकेको छैन ।