काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको नेतृत्व छाड्न तयार भएका छन् । पार्टीको विधान महाधिवेशन आइतबार सम्बोधन गर्दै ओलीले पार्टीलाई बहुमत दिलाएर मात्रै नेतृत्व छाड्ने बताएका हुन् ।
पार्टीको विधान महाधिवेशन आइतबार सम्बोधन गर्दै ओलीले भने, ‘बहुमतमा पुर्याएर यस्तो उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्याएर छोड्ने हो ।’
पार्टीका अगुवा र प्रिय साथीका रुपमा आफूमाथि देखाएको विश्वासमा एक इन्च पनि तलमाथि हुन नदिने ओलीको भनाई छ ।
यस्तै ओलीले पार्टीको साटो व्यक्तिलाई प्रथमिकता पाएको भन्दै आलोचना भइरहेका आफूहरु व्यक्तपूजक नभएको बताएका छन् । पार्टीको पहिलो विधान महाधिवेशन ओलीमय भएको, पार्टीको साटो व्यक्तिलाई प्रथमिकता पाएको भन्दै आलोचना भइरहेको छ ।
महाधिवेशन प्रतिनिधिहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘यतिबेला हामीमाथि चौतर्फी हमला भइरहेको छ । हाम्रो विचारमाथि हमला भएको छ, संगठनमाथि हमला भएको छ । अनि नेकपा एमालेको महाधिवेशनमा ब्यानर देखिए रे, झण्डा देखिए रे, अलिक तामझाम देखियो रे, नेतृत्वको समर्थनमा कार्यकर्ता बोलेको देखियो रे ।’
उनले अघि भने, ‘यो हाम्राविरुद्ध हमलाको विभिन्न रुप हो । हामी व्यक्तिपूजक होइनौं, मूर्तिपूजक होइनौं । हामी धर्मान्धतामा विश्वास गर्दैनौं । हामी कमिटी प्रणालीमा विश्वास गर्छौं, सामूहिकतामा विश्वास गर्छौं ।’
ओलीले समृद्ध नेपाल निर्माणको अभिभारा एमालेको काँधमा रहेकाले आफ्नो पार्टीले फेरि पनि विजय हासिल गर्ने बताएका छन् । ओलीले प्रतिवेदनमा उठेका विषयबारे स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री ओलीले देश बनाउने जिम्मेवारी हाम्रो भएकाले देश बिग्रिएमा एमालेले अरुलाई दोष दिएर उम्कन नपाउने जनाए । उनले भ्रममा परेर पार्टीबाट बाहिर गएकाहरूलाई फर्काउन पहल गर्न निर्देशन दिए ।
उनले जनताको बहुदलीय जनवादको जगमा यसलाई परिष्कृत तथा राष्ट्यि पुँजीको विकास गर्दै गर्दै समाजवादोन्मुख राज्य निमार्णका लागि एमाले सदैव प्रतिबद्ध हुनुपर्ने बताए । उनले आम कार्यकर्ता र जनताले दिएको आफू प्रतिको विश्वासलाई कत्ति पनि कुठराघात गर्न नदिने सङ्कल्प गरे । अध्यक्ष ओलीले अबको निर्वाचनमा पार्टीलाई कुनै मधुकैटबले हल्लाउन नसक्ने गरी बहुमत ल्याउने गरी पार्टीलाई स्थापित गर्ने वाचा गरे ।