सिमकोट । जिल्ला प्रशासन कार्यालय हुम्लाले नजिकिँदैं गरेको दशैं तिहार लगायतका चाडपर्वलाई लक्षित गरि बजार अनुगमनलाई तीव्रता दिएको छ । प्रशासनले चाडपर्वमा बढी सामानको माग र खपत हुने भएको हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्नेजस्ता समस्या नहोस् भन्ने उदेश्यका साथ अनुगमनलाई तीव्रता दिएको हो ।
चाडपर्वमा सामानको माग र कारोबार पनि बढी हुने भएकाले मूल्य, सामानको गुणस्तरमा उपभोक्ता ठगीमा नपरोस भन्दै अनुगमलाई तीव्र पारिएको बजार अनुगमन समितिका संयोजक एबम् सहायक प्रमुख जिल्ला अधिकारी दसरथ राइले बताउनुभयो ।
उहाँका अनुसार भदौ ११ गते मात्रै बजार अनुगमन गरिएता पनि यो वर्षको दशैँ तिहारको चाड पर्वलाई लक्षित गरि आज पुनः अनुगमन गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी दसरथ राईको संयोजकत्वमा गएको टोलिले आज विहान ९ वजे जिल्लाका खुद्रा तथा मासु पसलहरुको अनुगमन गर्नुका साथै वडा दशैँ २०७८ को उपलक्षमा व्यवसायीलाई शुभकामना दिंदै अनुगमनलाई समेत तिव्रता दिइएको थियो ।
हुम्लाको सदरमुकाम सिमकोटमा भने गत वर्ष भन्दा यो वर्ष नियमित रुपमा बजार आुगमन कार्य तिव्र रुपमा पारिएको छ । आज अनुगमन गरिएका १० वटा खुद्रा तथा मासु पसलहरु मध्ये नोवेल जनरल स्टोर तथा फ्रेस हाउस पसलमा म्याद गुज्रिएको तीन पाकेट विस्कुट बाहेक अन्य कुनै पनि पसलहरुमा अखाद्य बस्तुहरू नभेटिएको अनुगमन समितिका संयोजक राईले बताउनुभयो ।
उहाँका अनुसार १० वटा पसल अनुगमन गर्ने क्रममा दुईवटा पसल दर्ता नभएका, एउटा शाखा अनुमति प्रमाणपत्र नलिएको र एउटा नविकरण नभएको पसल भेटिएको बताइएको छ । पसलेहरुलाई पछिल्लो पटक अनुगमन गर्ने क्रममा यस्तो भेटिएमा कारवाही समेत हुने बताउनुभयो ।
सिमकोट बजारमा नियमित रुपमा बजार अनुगमन गर्दा चौथो पटकमा निक्कै सुधारन्मुख रहेको सहायक प्रमुख जिल्ला अधिकारी राइको भनाई छ ।
अनुगमनमा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, सिमकोट गाउँपालिका, घरेलु उद्योग तथा हितसंरक्षण कार्यालय, उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघ हुम्लाको समेत सहभागिता रहेको थियो ।
उक्त अनुगमन कार्य माथिल्लो गाउँमा रहेको तिन धारा र संञ्चार टोलका पसलमा गरिएको थियो ।
अनुगमनका क्रममा भेटिएका तीन पकेट विस्कुट अनुगमन कार्य सकिए लगतै विधुत कार्यालयको खाली चौरमा लगेर जलाएर नष्ट गरिएको अनुगमन समितिका संयोजक राइले बताउनु भयो ।