सिमकोट । सिमकोट गाउँपालिकाको आयोजनामा महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगतको राष्ट्रिय नारा “घरबाट शुरु गरौँ, महिला हिंसा अन्त्य गरौ” भन्ने विषयमा बक्तित्वकला सञ्चालन सम्पन्न भएको छ । सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माध्यामिक विद्यालयमा शुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तरगत माध्यामिक विद्यालय स्तरीय छात्र छात्रा बिच वक्तित्वकला प्रतियोगिता सञ्चालन भएको हो ।
आजै भएको बक्तित्वकला प्रतियोगितामा छात्रतर्फ प्रथम हुनेमा सञ्जय बुढा थोकी , दृतिया हिरालाल रोकाया, तृतीया शम्सेर सुनार र छात्रा तर्फ प्रथम हुने निर्मला हमाल, दृतिया लक्ष्मी शाही, तृतीया सविता भण्डारी भएको विद्यालयका प्रधानध्यापक कैलाश रोकायाले जानकारी दिए ।
बक्तित्वकलामा प्रथम, दृतिया र तृतिया हुने छात्रछात्रालाई पुरस्कार स्वरुप कापी कलम आधार बिकास नेपालले सहयोग गरेको हो । कार्यक्रम सिमकोट गाउँपालिकाको आयोजना गरेको थियो भने आधार बिकास नेपाल,सामाजिक बिकास, किर्डाक नेपाल, गुड नेभर्स इन्टरनेस्नल , नेपाल अस्ट्रिया साझेदारी संस्था प्रायोजक रहेका थिए ।
स्थानीय सरकारमा महिलाको प्रतिनिधित्व बढेपनि हुम्लाका ग्रमिण भेगहरुमा महिला हिंसाका घटनामा कमि आउन सकेको छैन । यहाँका पालिकाहरूले ठोस योजना बनाएर काम गर्न नसक्दा महिला हिंसामा कमि आउन नसकेको महिला अधिकारकर्मीहरुको भनाई रहेको छ । नजिकमा स्थानीय सरकार भएको भनिएपनि महिला हिंसाका घटनामा कमि नआएको उनिहरुले बताउने गरेका छन् ।
जिल्लाका स्थानीय तहहरुले बेलाबेलामा सचेतनामूलक कार्यक्रम चलाएपनि हिंसाको पहिचान गरि त्यसको समाधानमा ठोस योजना नबनाएको महिलाअधिकारकर्मीहरुको भनाई छ । यहाँका स्थानीय सरकारले महिला हिंसा न्युनिकरणमा काम गर्न बजेट छुट्टाएपनि योजनाबद्ध रुपमा काम हुन नसक्दा उपलब्धी देखिन सकेको छैन ।
स्थानीय तहमा भएका न्यायीक समितिले समेत मेलमिलापलाई मात्र जोड दिँदा हिंसाका घटनाहरू दोहोरीने समस्या छ । जिल्लाका स्थानीय तहका न्यायीक समितिमा पर्ने उजुरी मध्ये अधिकांश महिला हिंसाका घटना हुने गरेका छन् ।
देशै भरि महिला हिंसा बिरुद्धको अभियान सुरु भइरहदा हिंसाका घटनाहरु पनि सार्वजनिक भैरहेका छन् । महिलाहरु बलत्कार, बहुबिवाह, मानव बेचबिखन, घरेलु हिंसा, बालयौनदुराचार, लगायतका हिंसाका घटनाका शिकार भैरहेका छन । हिंसा पीडितको न्याय र पीडकको कारवाहीको लागि कानूनी ब्यवस्था रहेपनि बिभिन्न रुपमा महिला उपर हिंसा भैरहेको सन्दर्भमा हिंसा रोकथाममा महिला हिंसा बिरुद्धको १६ दिने अभियानलाई प्रभावकारी र सार्थक बनाउन जरुरी छ ।
महिला हिंसा भन्नाले महिला भएकै कारण महिला माथी हुने सामाजिक, साँस्कृतिक, आर्थिक, पारिवारिक, शारीरिक, मानसिक, राजनीतिक तथा यौनजन्य रूपमा भोग्नु परेको हिंसालार्ई बुझिन्छ । महिला हिंसाबाट जुनसुकै जातजाति समुदाय र वर्गहरू, ग्रामिण तहदेखि शहरी क्षेत्रमा र तल्लो तहदेखि माथिल्लो निकायसम्म वा सर्वहारा वर्गदेखि सामन्ती, पूँजीपति वर्गका महिला समेत पीडित हुन बाध्य छन् ।