एजेन्सी । डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक १६औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
गएराति डेनमार्कलाई अतिरिक्त समयमा २/१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो ।
यो जितसंगै इंग्ल्यान्डले पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्ने अवसर प्राप्त गरेको छ ।घरेलु मैदान वेम्बली स्टेडियममा इंग्ल्यान्डले सुरुवाती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले एक गोल गरे । इंग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो । डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता डेनमार्कले बनाएको थियो । खेलको ३०औं मिनेटमा डेनमार्कका युवा खेलाडी डाम्सगार्डले फ्रिकिकबाट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए ।
बक्सको ठिक बाहिरबाट २१ वर्षीय डाम्सगार्डले फ्रिकिकबाट उत्कृष्ट गोल गरेका हुन ।
तर, खेलको ३९औं मिनेटमा डेनमार्कका कप्तान सिमोनले आत्मघाती गोल गरेपछि खेल १÷१ गोलको बराबरीमा पुग्यो । इंग्ल्यान्डका बुकायो साकाको क्रसमा उनले आफ्नै पोस्टमा गोल गरेका थिए ।
दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयको १ सय ४औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २/१ को जित दिलाए । उनले आफैले हानेको पेनाल्टीको रिबाउन्डमा गोल गरेका हुन् ।
रहिम स्ट्रर्लिङलाई जोकिम माहेलले पेनाल्टी बक्स भित्र फउल गर्दै लडाएपछि इंग्ल्यान्डले भीएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो । जसमा केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर कास्परले रोकेका थिए । तर, रिबाउन्डमा आएको बललाई केनले सहजै गोलमा परिणत गरे ।
इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक युरोकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार राति वेम्बली स्टेडियममा हुनेछ ।
इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४/२ गोल अन्तरले हराएर फाइनलमा स्थान बनाइसकेको छ ।
यसअघि इंग्ल्यान्डले क्वाटरफाइनलमा युक्रेनमाथि ४/० गोलको सानदार जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको थियो। डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २/१ गोल अन्तरले हराएर सेमिफाइनलमा स्थान बनाएको बिबिसीले जनाएको छ ।