सिमकोट । नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटि हुम्लाद्धारा जिल्ला प्रशासन कार्यालय हुम्लाको ध्यानार्कषण गराएको छ ।
सर्केगाड गाउँपालिका वडा १ जैर गाउँका १९ वर्षिय चन्द्रे कामीले मुगु जिल्ला सोरु गाउँपालिका–४ लिप्रु गाउँकी १९ वर्षिया सुन्तली मल्लसँग अन्तर जातीय विवाह गरेको भन्दै महिला पक्षका माइतिहरुले युवक पक्षको घर तोडफोड गरि कामीलाई बेपत्ता गरेको भन्दै सो जिल्ला कमिटि हुम्लाले मङ्गलबार जिल्ला प्रशासन कार्यालय हुम्लाको ध्यानार्कषण गराएको छ ।
नेपाली समाजमा हुने गरेका जातीय उत्पीडन तथा जातीय विभेद, अन्याय अत्यचार र दमन लगायतका सबैखाले विभेद विरुद्ध आवाज उठाउदै आएको सो संगठनले प्रमुख जिल्ला अधिकारीको गणेश आचार्यको ध्यानार्कषण गराउँदै ज्ञापनपत्र पेश गरेको छ ।
इतिहासका कालखण्डदेखि नै विभेद जन्य सामाजिक कृयाकलापका विरुद्ध नेपालको प्रचलित ऐन, कानूनको सीमा र परिधि भित्र रहि दलित समुदायको मुक्तिको लागि अग्रपंतिमा लड्दै आएको र सो घटनाको जरै सम्म पुगेर न्यायको पहुँजसम्म पुराउनका लागि नेपाल उत्पीडित जातीय मक्ति समाज जिल्ला कमिटि हुम्ला सदैव अघि बढ्ने संगठनका अध्यक्ष लालधन टमटाले बताए ।
अध्यक्ष टमटाका अनुसार केही दिन अघि मात्रै सर्केगाड गाउँपालिका वडा १ को जैर गाउँका चन्द्रे कामीले मुगु जिल्ला वडा ४ की सुन्तली मल्लसँगको अन्तर जातीय विवाह गरेको भन्दै युवती पक्षका १५ देखि २० जनाको समूहले मङ्सिर २९ गते रातीको १२ बजे चन्द्रेका घरपरिवारलाई कुटपिट गरि युवक युवतीलाई अपहरण गरि सुन्तलीलाई आफ्नो घरमा छोडि चन्द्रेलाई हालसम्म पनि बेपत्ता गरिएको घटनाले आफ्नो संगठनको ध्यानार्कषण भएको भन्दै विभिन्न निकायमा धाउन बाध्य भएको बताइएको छ ।
दलित समुदायकै भएका कारणले चन्द्रेलाई अपहरण गरि विवाहलाई बिथोल्ने र उनलाई बेपत्ता पार्ने जुन अमानविय कार्य भएको र यस प्रकारको घटनालाई हाम्रो संगठनले घोर निन्दा तथा भत्र्सना गर्दै बेपत्ता पारिएका व्यक्तिको सहकुसल उद्धार गरिनु पर्ने माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
साथै घटनामा संगलग्न सम्पुर्ण व्यक्तिहरुको चाँडो भन्दा चाँडो पहिचान गरि उनिहरुलाई कानूनी दायरामा ल्याउनु पर्ने माग गरिएको छ । घटनाको विषयमा हुम्ला जिल्लाका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माको टोलि घटना स्थलमा पुगेको छ ।
घटनाको अनुसन्धानका लागि गएको टोलि हाल सम्पर्कमा नआएको र सो घटनलाई गम्भिरता पुर्वक लिनु पर्ने भएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राइले बताए ।