काठमाडौं :
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले, कांग्रेस र माओवादी पार्टी जनताका अगाडि मुख देखाउनलायक नभएको टिप्पणी गरेका छन्। बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी, दोलखा जिल्ला कमिटीले काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन्।
राप्रपाले विगतमा ठिक ढंगले जनतालाई बुझाउन नसक्दा ती पार्टीहरू आकारको हिसाबले ठूलो भएको उनले बताए। अध्यक्ष लिङ्देनले जनताले देश र धर्मलाई शिरमा बोकेर हिँड्ने राप्रपा पार्टी नै खोजेको भन्दै पार्टी नेतृत्वले कुनै किसिमको कमीकमजोरी नगर्ने बताए।
उनले भने, ‘अहिले राजनीतिक रूपले र नैतिक रुपले कांग्रेस, एमाले, माओवादीहरू जो आफूलाई यो देशको ठूलो पार्टी भन्छन्। उनीहरु जनताको बीचमा गएर मुख देखाउन लायक छैनन्।’ उनले अगाडि थपे, ‘हाम्रो नेतृत्वबाट कुनै पनि कमी, कमजोरीहरू हुँदैन। तपाईहरूको शिर झुक्ने खालको काम हुनेछैन।’
उनले विगतमा विभिन्न कारणले राप्रपा छोडेका र अन्य पार्टीमा भएर पनि राप्रपाको विचार मन पराउनेहरूलाई राप्रपामा आउन आह्वान गरे। राप्रपामा आउने सबैलाई योग्यता, क्षमताअनुसारको उचित सम्मान र अवसर प्रदान गर्ने उनको आश्वासन थियो।