सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर चार स्थित साँया स्वास्थ्यचौकीमा यतिबेला औषधिको अभाव भएको छ । नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका जनाइएको छ । साँया स्वास्थ्यचौकीमा विरामीहरु उपचारका लागि जाँदा सामान्य सिटामोल समेत नपाउने गरेको गुनासो गर्न थालेका छन् । मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या बनाएको स्थानीयवासी गुनासो पोख्ने गरेका छन् । स्वास्थ्यचौकीमा उपचार तथा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भन्दै फिर्ता पठाउने गरेका छन् ।
दैनिक स्वास्थ्यचौकीमा १५ देखि २० जनासम्म बिरामी उपचार गर्न जाने गरेको बताइएको छ । पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण सो स्वास्थ्य संस्थामा बिरामी बढेका छन् । सायाँ स्वास्थ्यचौकीमा औषधि अभाव भएपछि बिरामीहरु खाली हात फर्किनु परिरहेको छ ।
स्वास्थ्यकर्मीको दोष गाउँपालिकालाई
स्वास्थयचौकीमा सिटामोल जस्तो अत्यावश्यक औषधि पनि नरहेको र गाउँपालिकाले यसतर्फ कुनै ध्यान नदिएको स्वास्थ्यकर्मीको आरोप छ ।
सुत्केरी भइसकेपछि महिलालाई लगाउने सुई भएको भएपनि, अस्थाई साधन सम्बन्धिका पिल्सहरु नभएको सोही स्वास्थ्यचौकीका अनमी बिजौरा शाहीले बताईन् । यसका साथै सलायनहरु प्नि भएको उनले भनिन् । स्वास्थ्यचौकीबाट विरामीहरुलाई बढी प्रयोग हुने सिटामोल भएपनि अहिले स्वास्थ्यचौकीमा अभाव भएको अनमी शाहीले जानकारी दिईन् । स्वास्थ्यचौकीमा सेवाग्राहीहरु प्राय टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्छ भनेर आउने गरेको भएपनि सिटामोल एमोसिलिन नहुँदा थप समस्या बनाएको छ । यस्तै हिउँदको समयमा दमका विरामी आउने गरेको भएपनि उनिहरुलाई चाहिने आवश्यक पर्ने औषधि समेत नभएको बताइएको छ ।
यस्तै सायाँ स्वास्थ्यचौकीका अहेब धर्मराज शाहीका अनुसार, स्वास्थ्यचौकीमा औषधि अभाव हुँदा नागरीकको गाली आफुहरुले खापुपर्ने अवस्था आएको बताए । स्वास्थ्यचौकीमा सिटामोल समेत नपाउने अवस्था भएको छ । उपचारका लागि आएका विरामीलाई औषधि छैन् भन्दा जानेबुझेका फिर्ता हुने गरेपनि नबुझेका नागरीकले तपाईहरु जानुहोस् स्वास्थ्यचौकी आगो लगाउछौ समेत भन्ने गरेको अहेब शाहीले बताए । स्वास्थ्यचौकीमा औषधि अभाव भएपनि आफुहरु आफ्नो डिउटीमा जानुपर्ने भएकाले उपचारका आउने विरामीलाई औषधि छैन भन्दा रिसाउने गरेका छन् । औषधि अभाव हुँदा अहिले आफुहरुले कार्यालय खोल्ने र बन्द गर्ने काम मात्र भएको बताउने गरेका छन् ।