सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोर्डना खोप लगाएका छन् । स्वास्थ्य कार्यालय हुम्लाको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने कार्य सम्पन्न गरेको छ ।
विद्यालयमा अध्ययरत १२ देखि १७ वर्ष उमेरसम्मका ९०.६१ प्रतिशत बालबालिकाले कोभिड १९ विरुद्धको मोर्डना खोप लगाएको स्वास्थ्य कार्यालय कोल्डचेन अशिस्टेण्ड मान बहादुर रोकायाले बताउनुभयो । सातवटा स्थानीय तहमा रहेको हुम्लाका १२ देखि १७ वर्ष उमेरका ५ हजार ४ सय ९७ जना बालबालिकालाई मोर्डना खोप लगाइएको हो ।
सिमकोट गाउँपालिकामा रहेका १४१४, नाम्खाका ३३१, खार्पुनाथका ६०३, अदानचुलीका ११७७ जना बालबालिकालाई मोर्डना खोप लगाइएको रोकायाले बताउनुभयो । यस्तै ताँजकोटका ५६७, चंखेलीमा ५७६ र सर्केगाड गाउँपालिकाका ८२७ जना गरेर जिल्लाभरका पाँच हजार चार सय ९७ जना बालबालिकालाई मोर्डना खोप लगाइएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जानकारी दिएको छ ।
सातवटा स्थानीय तहका लागी ६१ वटा खोप केन्द्र मार्फत १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई खोप लगाइएको हो ।
यस्तै उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ लिमी र यारीका बालबालिका खोप लगाउनबाट बन्चित भएका छन् । यस क्षेत्रमा अत्याधिक चिसोका साथै बाक्लो हिमपातले स्वास्थ्यकर्मी र खोप पुर्याउन कठिनाई हुनेभएपछि यहाँका बालबालिका खोप लगाउनबाट बन्चित बनेका हुन् । यहाँका बालबालिकालाई खोप कहिले लगाउने भन्ने अझै टुंगो लागि नसकेको रोकायाले बताउनुभयो ।
यसैगरी दक्षिण क्षेत्रमा रहेको चंखेली गाउँपालिकाको वडा १ र ५ मा रहेको नेक्पा गाउँका बालबालिका खोप लगाउनबाट छुटेका छन् भने उनिहरुलाई अबको एक दुई दिनमा मोर्डना खोप लगाउने अभियान सञ्चालन हुने जानकारी प्राप्त भएको छ ।
हुम्लामा ६ हजार ३ सय ७० डोज मात्रै मोर्डना खोप हुम्ला आई पुगेको थियो । पाँच हजार बढी बालबालिकालाई खोप लगाएर अब दुई सय २९ डोज खोप बाँकी रहेको स्वास्थ्य सेवा कार्यालय हुमलाले जानकारी दिएको छ । जिल्लामा रहेका नौ हजार नौ सय चालीस जना १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकालाई खोप लगाउने लक्ष भएपनि जिल्लामा ६ हजार ३ सय ७० डोज मात्रै आइपुगेको पुगेको थियो ।
पहिलो चरणमा पुस ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकाले यसको २८ दिनपछि दोस्रो मात्रा मोर्डना खोप लगाउनुपर्ने हुन्छ ।
जिल्लाभर विद्यालयमा अध्ययरत १२ देखि १७ वर्षसम्मका बालबालिकाको संख्या ६ हजार ६७ जनाको तथ्याङ आफुहरुसँग भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।