सिमकोट । आइतबार साँझदेखि जिल्लामा हिमपात हुँदा सोमबार अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा अवरुद्ध हुन पुगेको छ ।
नेपालको एक मात्रै राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला सदरमुकाम सिमकोटबाट अन्तर जिल्ला जोड्ने हवाई यातायात अवरुद्ध भएको हो । सदरमुकाम सहित प्राय जिल्लावासीको जिल्ला बाहिर पुग्ने मुख्य साधन हवाई सेवा प्रतिकुल मौसमले उडान नहुँदा यहाँका नागरीकले सिमकोटमै रोकिनु परेको छ ।
विहान देखि हिमपातका साथै बाक्लो बादल लागेका कारण हवाई जहाजले नेपालगञ्ज र सुर्खेतबाट उडान भर्न नसकेको सिमकोट विमानस्थल श्रोतले जानकारी दिएको छ । नेपालगञ्ज र सुर्खेतबाट सिता, समिट, तारा र नेपाल एयरलाइन्सले हुम्लामा उडान भर्दै आएका थिए । हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर जाने सिमकोटमै रोकिएका छन् । नेपालगञ्ज, सुर्खेतबाट हुम्ला पुग्ने यात्रु उतै रोकिएका छन् ।
काम विशेषले जिल्ला जानका लागि टिकट काटेर तयारी अवस्थामा रहेपनि हिमपातले उडान नहुँदा सोमबार सिमकोटमै रोकिनु परेको स्थानीय हेमन्त बोहराले बताउनुभयो । आफु काम विशेष नेपालगञ्ज हुँदै काठमाण्डौ जाने तयारी भएर सिमकोट पुगेपनि मौसम खराबिका कारण जान नसकेको उहाँले बताउनुभयो ।
यस्तै हवाई उडान बन्द हुँदा नेपाल खाद्यय व्यवस्था तथा व्यापार कम्पनि लिमीटेडको खाद्यान्न ढुवानी हुन नसकेको बताइएको छ । यसैगरी नेपालगञ्ज सुर्खेतबाट निर्माण सामाग्री देखि सिमकोटमा सञ्चालीत पसल व्यवसायिहरुको दैनिक आयात हुने तयारी देखि अन्य सामाग्री ढुवानी हुन नसकेको बताएका छन् ।
जिल्लामा मौसम सुधार हुँदाको दिन सिता, समिट र तारा एयरलाइन्सले दैनिक ३ देखि चारवटा हलाई भर्ने गरेका थिए ।
हिमपातले किसान खुसि
जिल्लामा केही दिन यता देखि निरन्तर हिमपात नभएपनि फाट्फुट्ट परेको हिमपातले हुम्लाका किसानमा खुसि छाएको छ । यो वर्ष हिउँदको याम समयमै हिमपात हुँदा जेठासी बालिको उत्पादन राम्रो हुने भन्दै खुसि भएका छन् । आजभोली हिमपात हुँदा खेतबारीमा लगाएको गहुँ, जौ र उवाको उत्पादन राम्रो हुने खार्पुनाथ गाउँपालिका वडा १ का किसान मनोज विकले बताउनुभयो । हिमपात भएसँगै आजभोली यहाँका किसानहरु खेतबारीमा व्यस्त हुने गरेको विकले बताउनुभयो । सधै हुम्लाका किसानले खडेरीको सामना गर्नुपरेपनि यो पटक जेठमा उत्पादन राम्रो हुने आशामा आफुरहेको विकले बताउनुभयो । हिमपातले पशुवस्तुका लागि वनमा समेत घास पनि राम्रो उम्रिने भएको विकले बताउनुभयो ।
उत्तरी हुम्लाको जनजीवन कष्टकर
हुम्लाको उच्च भेगमा रहेको उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टर बनेको छ । तल्लो क्षेत्रमा हिमपात कम भएपनि उत्तरी नाम्खा गाउँपालिकाको चाला, यारी, तिल,जाङ् हल्जि, लिमी, मुचु र हिल्सा लगायतका क्षेत्रमा यतिबेला बाक्लो हिमपात हुँदा यहाँका नागरीकको दैनिकी थप कष्टकर बनेकोछ । हिमपात हुँदा केही समय रमाईलो भएपनि बानलबालिका र बृद्धबृद्धालाई थप समस्या हुने गर्दछ । हिमपातले तापक्रम माइनसमा झर्दा चिसो अत्याधिक बढेकाले जनजीवन थप कष्टकर बनेको हो ।