सिमकोट । आयआर्जन तथा जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले बेरोजगार युवाका लागि दुई महिने आधारभूत तालीम हुम्लाको सदरमुकाम सिमकोटमा शुरु भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाको सहयोगमा सञ्चालीत दुई महिने आधारभूत फर्निचर निर्माण तालीममा १२ जना युवा सहभागी छन् ।
सिमकोट र खार्पुनाथ गाउँपालिकाका बेरोजगार युवालाई यस सम्बन्धी तालिम दिई उपभोक्ताको माग र उनीहरूको आयस्रोतमा समेत वृद्धि गर्ने लक्ष्यका साथ तालीम सञ्चालन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाका प्रमुख धुब्रबाठा मगरले बताउनुभयो । तालीमका सहभागीलाई फर्निचर निर्माण सम्बन्धी तालीममा सिकेका विभिन्न औजार र उपकरणसमेत सहयोग स्वरुप उपलव्ध गराइने भएको उहाँले बताउनुभयो ।
सिप सिकेर आत्मनिर्भर बन्नुका साथै व्यवसायीहरुको दक्षतामा वृद्धि गर्ने उद्देश्यका साथ फर्निचर निर्माण तालीम सञ्चालन गरिएको हो । प्रदेश सरकारले थप बजेट पठाएको खण्डमा जिल्लाका अन्य पाँचवटा गाउँपालिकाका युवा उद्यमीलाई समेत तालीम दिइने भएको प्रमुख मगरले बताउनुभयो । आज सोमबारबाट सुरु भएको उक्त तालीममा सिमकोट र खार्पुनाथ गाउँपालिकाका युवाको मात्रै सहभागीता रहेको छ । अन्य युवा इच्छुक भए सहभागी गराइने प्रमुख रानाले बताउनुभयो ।