सिमकोट । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हुम्लामा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या ९३६ रहेको छ ।
मुख्य निर्वाचन अधिकृत जगत बहादुर पौडेलका अनुसार हुम्लाका सातवटा स्थानीय तहमा अध्यक्ष पदमा ३६, उपाध्यक्षमा ४३, वडाध्यक्षमा २३०, महिला सदस्यमा १७३, दलित महिला सदस्यमा १०९, र सदस्यमा ३५० जनाले उम्मेदवारी दिएको बताउनुभयो ।
सातवटा गाउँपालिकाबाट पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष,महिला सदस्य, दलित महिला सदस्य र सदस्य गरेर २३४ जना निर्वाचीत हुने भएपनि हुम्लामा विभिन्न पदका लागि ९३६ जनाले उम्मेदवारी दिएको बताउनुभयो ।
यस्तै विभिन्न पदका लागि अदानचुलीमा १०४, खार्पुनाथमा १०८,चंखेलीमा १७६, ताँजकोटमा ११३, नाम्खा ८३, सर्केगाड २२५ र सिमकोटमा १२७ जनाले दर्ता गराएको जानकारी प्राप्त भएको छ । गाउँपालिका अध्यक्षका लागि सबै भन्दा बढी ताँजकोटमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न पदका सर्केगाडमा २२५ जनाको उम्मेदवारी दर्ता भएको छ भने सबै भन्दा कम नाम्खा गाउँपालिकामा ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
हुम्लाको अदानचुलीमा विप्लव नेतृत्व नेकपाको उम्मेदवारी
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले हुम्लाको अदानचुली गाउँपालिका अध्यक्ष र वडाध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको छ । गाउँपालिका अध्यक्षमा खड्क सिंह, र वडा १ को वडाध्यक्षमा जायु थापा र वडा ६ को वडाध्यक्षमा गोरछे भियालले स्वतन्त्र उम्मेदवारी गराउनुभएको जानकारी प्राप्त भएको छ ।
चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले जिल्लाको अदानचुली गाउँपालिकामा मात्रै स्वतन्त्र उम्मेदवारी दिएको छ । चुनावलाई उपयोग गरेर जाने नीतिअनुसार नै उम्मेदवारी दिएको नेकपा हुम्लाले जानकारी दिएको छ । केन्द्रीय कमिटी बैठकमा निर्वाचनमा भाग लिने विषयमा सहमति नबनेपछि नेकपाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएको छ ।
हुम्लाका ७ वडामा दलित सदस्यको उम्मेदवारी परेन
आसन्न स्थानीय तहको निर्वाचनमा हुम्लाका ७ वडामा दलित महिला सदस्यको उम्मेदवारी नै परेको छैन । नाम्खा गाउँपालिकाको १ देखि ६ वडासम्म र चंखेली गाउँपालिकाको ५ नं वडामा दलित सदस्यबाट उम्मेदवारी नै नपरेको हो ।
सात गाउँपालिका र ४४ वटा वडा रहेको हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्म र चंखेली गाउँपालिकाको वडा नम्बर ५ मा दलित समुदाय नभएकाले उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको छ । हुम्लाका अन्य गाउँपालिकामा भने दलित महिला सदस्यको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हुम्लामा १०९ जनाले मनोनयन दर्ता गराएको पौडेलले जानकारी दिनुभयो ।
स्थानीय चुनावमा १०८४ जना सुरक्षाकर्मी खटिने
बैशाख ३० मा हुने स्थानीय तहको चुनावका लागि हुम्लामा एक हजार ८४ जना सुरक्षाकर्मी परीचालीत हुने भएका छन् । प्रमुख जिल्ला अधिकारी सीता परीयारका अनुसार नेपाल प्रहरी र म्यादी प्रहरी ६८४, शसस्त्र प्रहरी २३०, र आर्मी १७० जना गरेर जिल्लाभर १ हजार ८४ जना खटिने भएको जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचलाई शान्त र मर्यादित बनाउन प्रत्येक निर्वाचन केन्द्रमा प्रहरी र म्यादी प्रहरी गरेर ८ देखि ११ जनासम्म खटाईने भएको छ । नाम्खा गाउँपालिकाको लागि हेप्का,केर्मी, याल्वाङ्ग, सिमकोट गाउँपालिका लागि ठेहे,तल्लो गाउँ,टुलिङ्ग , खार्पुनाथ गाउँपालिकाका सुरक्षाको निम्ती लाली,राया,खार्पुनाथ राखिने प्रजिअ परियारले बताउनुभयो ।
यस्तै गरी सर्केगार्ड गाउँपालिकाको सुरक्षाको लागि तुम्च,सायाँ, गोठी,र चंखेली गाउँपालिकाको सुरक्षाको लागि मिमि,देउली,पिप्लाङ्ग अदानचुली गाउँपालिकालाई सुरक्षा दिन कल्के,श्रीनगर,बारीगाउँ र ताजाँकोट गाउँपालिकालाई सुरक्षा दिन भैसाबाँझ,मदना,छप्रेला,राखिने भएको प्रजिअ परियारको भनाई छ । शान्त, वातावरण निर्वाचन सम्पन्न गर्ने हिसाबले सुरक्षाकर्मीको मजबुत रुपमा खटाइएको छ ।