हुम्लाको चंखेलीमा एमाले र एसबीच तालमेल

नेपालचेक समाचारदाता बुधबार, बैशाख १४, २०७९

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ ।

नेकपा एमालेले आफूबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई अहिलेसम्म राजनीतिक दल मानेको छैन । केन्द्रमा एक अकार्नबीच आरोप पत्यारोप लगाउँदै आएका छन् । तर हुम्लामा वैशाख ३० मा हुने स्थानीय तहको चुनावमा चंखेली गाउँपालिकामा तालमेल हुनेभएको हो ।

एमाले नेताहरुले सार्वजनिक कार्यक्रममा एकीकृत समाजवादी पार्टीको नाम उच्चारण गर्दैनन् । उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाल र अरु नेताहरुको चर्को आलोचना गर्छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले यो चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने पटक पटक बताइसकेका छन् । उनले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई कांग्रेसको सहयोगी दलको आरोप लगाइरहेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले पनि एमालेको त्यत्तिकै आलोचना गर्छन् । तर शीर्ष नेताहरुको यो तिक्ततालाई बिर्सेर हुम्लाको चंखेली गाउँपालिकामा भने एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ ।

यी दुई दलबीचको तालमेलपछि गाउँपालिका अध्यक्षमा एमालेकी बिमलाकुमार शाही उम्मेदवार बनेकी छन् । नेकपा एकीकृत समाजवादी पार्टीबाट उपाध्यक्षमा प्रेमकला शाहीले उम्मेदवारी दिएकी छन् । एमालेले उपाध्यक्ष र एकीकृत समाजवादीले अध्यक्षमा उम्मेदवार उठाएको छैन ।

सत्तारुढ गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग हुम्लाको पालिकाको भागबण्डा नमिलेपछि एकीकृत समाजवादी एमालेसँग हात मिलाउन पुगेको हो ।

एमालेबाट अध्यक्षको उम्मेदवार बनेका शाहीले पालिकामा अरु दलसँग पनि चुनावी सहकार्यका लागि छलफल चलिरहेको बतानुभयो । चंखेली माओवादीबाट गोविन्दबहादुर शाही अध्यक्ष र कांग्रेसबाट मैना बुढा उपाध्यक्षको उम्मेदवार छन् । हुम्लामा माओवादी दुई पार्टीको मात्रै गठनबन्धन भएको छ । भने चंखेली बाहेक अन्य ६ पालिकामा एमालेले कसैसँग तालमेल नगरेको जनाइएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]