सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा गठबन्धनको पुरै प्यानल नै विजयी भएको छ । शनिवार दिउँसोबाट मतगणना सुरुभएको थियो । खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्ण बहादुर रावल विजयी भएका छन् । अध्यक्ष रावल दोस्रो कार्यकालका लागि निर्वाचीत भएका हुन । उहाँ २०७४ सालको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचीत भएका थिए ।
आज बिहान सकिएको मतगणनाअनुसार कांग्रेसका रावल अध्यक्ष पदमा विजयी भएका हुन् । उहाँले एक हजार आठ सय १० मत ल्याएका छन् । भने साथै उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याएका छन् ।
यहाँ उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह (भरत) विजयी भएका छन् । उहाँले १ हजार ८७२ मत ल्याएका छन् । यस्तै उहाँका प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का शक्तिसिंह ऐडीले ८५० मत ल्याएका हुन् ।
यस्तै खार्पुनाथका पाँचवटै वडामा पनि गठबन्धन निर्वाचित भएको छ । कांग्रेस–माओवादी गठबन्धनअनुसार वडा नम्बर १ मा कांग्रेसका जयबहादुर शाही (४६९), वडा नम्बर २ मा कांग्रेसका चन्द्र रावल (२६०), वडा नम्बर ३ मा माओवादीका च्याँगा बोहरा (२७१), वडा नम्बर ४ मा काँग्रेसका रंगमति शाही (निर्विरोध) र वडा नम्बर ५ मा काँग्रेसका भरतजंग शाही (४९२) मत ल्याएर निर्वाचित भएका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह पालिका खार्पुनाथमा कांग्रेस–माओवादी र एमाले–समाजवादी गठबन्धन थियो । हुम्लामा कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको थियो ।