सिमकोट । जिल्ला अस्पताल हुम्लामा सञ्चालन भएको एकदिने निःशुल्क आँखा शिविरबाट ४३७ जना लाभान्वित भएका छन् । मंगलबार ४३७ जनाको निशुल्क उपचार गरिएको छ भने बुधबार ३६ जना मोतियाविन्दु भएका आँखाका विरामीलाई अप्रेशन तथा शल्याक्रिया गरिने भएको जानकारी प्राप्त भएको छ । तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं, स्वास्थ्य सेवा कार्यालय हुम्ला, जिल्ला आँखा उपचार केन्द्र हुम्ला, नेपाल रेड क्रश सोसाइटी जिल्ला शाखा हुम्ला, र नेपाल नेत्रज्योती संघ जिलला शाखा हुम्लाको संयुक्त रुपमा आयोजना गरेको निःशुल्क आँखा शिविरले आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा दिएको छ ।
एकदिने निःशुल्क आँखा शिविरबाट सिमकोट, खार्पुनाथ सहित अन्य छिमेकी गाउँपालिकाका साथै सदरमुकाम सिमकोटमा बसोबास गर्ने ४३७ जना आँखाका बिरामीले उपचार पाएको जिल्ला अस्पताल हुमलाका सिनियर अनमी सरीता बोहराले बताउनुभयो । जसमा ३६ जना आँखाका बिरामीलाई निःशुल्क शल्यक्रिया गरिने भएको छ ।
यस्तै २६ गते जिल्ला उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङमा निःशुल्क आँखा शिविर सञ्चालन हुनेभएको जानकारी प्राप्त भएको छ । दुर्गम जिल्लाका नागरीको निःशुल्क उपचारका लागि तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर गोविन्द पौडेल सहितको टोलीले उपचार गरेको जानकारी प्राप्त भएको छ । डाक्टर पौडेल सहित गरी दश जनाको टोली निःशुल्क आँखा उपचारको लागि हुम्ला पुगेका हुन् ।
आँखाको उपचारका लागि मंहगो खर्चेर ठूला सहर धाउनुपर्ने बाध्यता हटेको भन्दै यहाँका नागरीक खुसि भएका थिए । अरुबेला उस्तै उपचार गर्नुपरे नेपालगञ्ज, सुर्खेत लगायत काठमाण्डौ जानुपर्ने बाध्यता हटेको हो । यहाँका नागरीकले शिविरमा आँखाको उपचार सित्तैमा पाएका छन् भने खर्च पनि जोगिएको छ ।
स्वास्थ्य उपचारका शिविर गाउँगाउँमा सञ्चालन गरिए ग्रामीण भेगका सर्वसाधरणलाई ठूलो राहत पुगेको छ । निःशुल्क स्वास्थ्य शिविर बेलाबेला ल्याए गरिब गाउँलेको उपचारमा सहयोग पुग्ने यहाँ स्थानीय धनबहादुर भण्डारीले बताउनुभयो । आँखा शरीरको महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको छ ।
शिविरमा मोतीबिन्दु, मासु पलाएकोलगायत रोगको निःशुल्क शल्यक्रियालगायत आँखासम्बन्धि सम्पूर्ण उपचारहरु निःशुल्क प्रदान गरिएको थियो ।