सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेका यातायात व्यवसायीलाई पछिल्लो समय आफ्नो अनुकुल मनपरी यात्रुबाट भाडा असुल्ने गरेका छन् ।
इन्धनको मूल्यवृद्धि भएको भन्दै दक्षिण हुम्लाका तीन गाउँपालिकामा सञ्चालन हुने सवारीसाधनले मनपरी भाडा असुलिरहेका छन् । यात्रुहरु घर पुग्नैपर्ने बाध्यताबीच व्यवसायीहरुले मनपरी भाडा असुलेको यात्रुहरुको गुनासो छ ।
कर्णाली करिडोरको हुम्लाखण्डको सलीसल्लादेखि कवाडी र बाजुराको कोल्टीसम्म यातायात व्यवसायीले निर्धारित भाडादरभन्दा तेब्बर असुल्ने गरेको खुलासा भएको छ ।
दक्षिण भेकका ताँजकोट, अदनुचुली, सर्केगाड र चंखेली गाउँपालिकाका खडकखण्डमा तेब्बर भाडा असुली गरिरहेको यात्रुहरुको गुनासो छ । आवश्यक कामको लागि सहज आवतजावत हुने वातावरण बनाइनुपर्ने भएपनि यात्रुले सडक र सवारीमा अत्यन्तै धेरै सास्ती व्यहोर्न बाध्य भएको ताँजकोट स्थानीय राजेन्द्र परियारले गुनासो गर्नुभयो ।
सर्केगार्ड र चङ्खेली गाउँपालिकाको सीमाना सलीसल्लादेखि बाजुराको कोल्टीसम्म गाडी भाडा २ हजार २ सय तिर्नुपरेको यात्रु जानकी ऐडीले बताउनुभयो । उक्त खण्डको लम्बाइ ६८ किलोमिटर रहेको छ । उहाँले प्रतिकिलो मिटर ३२ रुपियाँभन्दा बढी भाडा तिर्नु परेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी सीता परियारको संयोजकत्वमा बसेको बैठकले अस्थायी रुट परमिट कायम र त्यसको भाडादर यातायात व्यवस्था कार्यालय सुुर्खेतलाई प्रतिकिलोमिटर १० रुपियाँ दर कायम गर्ने निर्णय थियो ।
सरकारी नियम अनुसार प्रतिकिलोमिटर भाडादर कायम गर्दा उक्त खण्डको ६८० रुपियाँ हुन आउँछ । सरकारी दररेड भयता पनि निजी यातायात व्यावसायहरुले मनपरी रूपमा तेब्बरभन्दा बढी असुली रहेको ऐडीले बताउनुभयो ।
यसअघि उक्त खण्डमा यातायातका साधनहरूले प्रतियात्रु १ हजार ६ सय रुपियाँ लिने गरेको थिए । संयुक्त बुकिङ काउण्टर सलीसल्लाले एक सूचना प्रकाशित गरी सलीसल्लाबाट बाजुराको कोल्टी लगायतका ११ स्थानको नयाँ भाडा कायम गरेको छ ।
सार्वजनिक गरेको सूचना जनाए अनुसार सलीसल्लाबाट बाख्रेसम्म १ सय, खच्चा २ सय, बालुकुना ४ सय, मकै ५ सय, दोमुख १ हजार, पैमा १ हजार १ सय, कवाडी १ हजार २ सय भाडा निर्धारण गरिएको छ । त्यसैगरि सलीसल्लाबाट बाजुराको धुलाचौर १ हजार ७ सय, पिलु २ हजार र कोल्टी २ हजार २ सय रुपियाँ भाडा निर्धारण गरेका छ ।
यातायात व्यवसायीले पटक–पटक इन्धनको मूल्यवृद्धि हुनु र कच्ची सडकमा गाडी गुड्ने भएको कारण भाडादर वृद्धि गर्नु परेको यातायात व्यवसायले बताउदै आएका छन् ।
स्थानीय प्रहरी प्रशासन र सडक कार्यालयको चरम लापरवाहीका कारण गरीब जनताले गाडी चढ्न नपाएको स्थानीयको गुनासो छ । ग्रामीण क्षेत्रमा चल्ने साना जिप र बोलेरो लगायत सवारीले निर्धारितभन्दा तेब्बर बढीसम्म भाडा लिइरहेको छ । दुर्गम गाउँसम्म कच्ची सडकको पहुँच त पुगेको छ ।