सिमकोट । स्थानीय तहको निर्वाचन भएको झण्डै एक महिनापछि जिल्ला समन्वय समितीको निर्वाचन हुने भएको छ । आयहि असार सा गते जिल्ला समन्वय समिती हुम्लाको निर्वाचन हुने भएको हो । हुम्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको मिति तोकेर निर्वाचत कार्यतालिकासमेत सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार ४ गते मनोनयन दर्ता गर्ने, मनोनयनविरुद्ध उजूरी दिने, छानविन गर्ने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।
त्यसैगरि ५ गते मनोनयन फिर्ता लिने समय तोकिएको छ । ७ गते मतदान गर्ने कार्यतालिका रहेको जानकारी प्राप्त भएको छ । समन्वय समितिका लागि जिल्लाका ७ वटा गाउँपालिकाका सात जना अध्यक्ष र सात जना उपाध्यक्षले मतदान गर्नेछन् ।
गाउँपालिका अध्यक्ष÷उपाध्यक्षमा गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा गएका नेपाली कांग्रेसका तीन जना अध्यक्ष र तीन जना उपाध्यक्षमा निर्वाचित भएका छन् भने गठबन्धनकै अर्को दल नेकपा माओवादी केन्द्रबाट पनि तीन जना अध्यक्ष र तीन जना उपाध्यक्ष निर्वाचित भएका छन् ।
एक जना अध्यक्ष स्वतन्त्रबाट निर्वाचित भएका छन् भने एक जना उपाध्यक्ष नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका छन् ।
जिल्ला समन्वय समितीको प्रमुख, उपप्रमुख तथा सदस्यका लागि हुम्लाको पाँच दलिय गठबन्धनले आज टुंगो लगाएको छ । जिल्ला समन्वय समितीको प्रमुखमा नेकपा एकिकृत समाजवादी पार्टी र उपप्रमुख नेकपा माओवादी केन्द्रलाई दिने सहमती भएको जानकारी प्राप्त भएको छ । माओवादीले उपप्रमुख सहित खुल्ला, दलित र महिला सदस्य पाएको छ भने नेपाली कांग्रेसले दुई खुल्ला सदस्य र दुई महिला सदस्य लिने सहमती भएको जानकारी प्राप्त भएको छ । पदाधिकारी बाँडफाड भएपश्चात हुम्लामा गठबन्धनको बहुमत रहेको छ । यस्तै नेकपा एमालेले उम्मेदवारी दिने÷नदिनेबारे कुनै निर्णय गरेको छैन ।