सिमकोट । कर्णाली प्रदेश सरकारले दिएका वस्ती विस्तारका घर निर्माण गर्न खार्पुनाथ गाउँपालिका २ थालीमा पुर्जि विनै सयौ रुख काट्न थालिएको छ ।
असार मसान्त नजिक आउनै लाग्दा वस्ती बिस्तार अन्तरगतका घर निर्माणको काम थालेका स्थानीयले जथाभावी रुपमा थाली सामुदायिक वन भित्रका रुख काट्न थालेको साुदमयिक वन व्यवस्थापन समितिका अध्यक्ष ताराविर रावलले जानकारी दिए ।
पुर्जि काट्न र व्यवस्थीत रुपमा रुख काट्नका लागि सामुदायिक वन व्यवस्थापन समिति, वडाले गरेको आग्रह नमानेरै गएको असार १८ गतेयता आरा र काठ काट्ने मेसिन लिएर जथाभावी काट्न शुरु गरेको अध्यक्ष रावलले नेपालवोटलाई जानकारी दिए । वडा र समुदायिक वनको बैठक बसेर आवश्यक काठ काट्ने भनेका थियौं रावलले भने हाम्रो बैठकको निर्णय नटेरेरै जथाभावी रुख काट्न थालेका हुन् ।
१ सय ८० घरधुरीले एकै पटक रुख काट्न थालेपछि हामीले व्यवस्थापन गरेको सामुदायिक वन मातहतको जंगल नाङ्गो हुने डरले हामी जिल्ला वन, गाउँपालिकासँग गुहार मागेका छौं । अव्यवस्थित रुख कटान हुन थालेपछि मंगलबार जिल्ला वन कार्यालय समक्ष लिखित रुपमै निवेदन दिएपछि खासै पहल नभएको उल्लेख गरेका अध्यक्ष रावलले कसरी हुन्छ रुख कटानलाई रोक्न पहल गरिदिन आग्रह गरे ।
“वडा कार्यालयको कुरा समेत अटेर गरेपछि आफूले गाउँपालिकालाई गुहार गरेउ तर गाउँपालिकाले पनि अरुलाई भन्नु भन्दै खासै निर्णय दिएनन्” उनले थपे, “जिल्लामा वनको सबैभन्दा ठूलो निकाय वन कार्यालय हो भनेर लिखित र मौखिक आग्रह गर्दापनि अहिलेसम्म खासै केहि पहल भएको छैन् ।”
कानूनी जटिलताले पुर्जि दिन समस्या– वन कार्यालय
पुर्जि विनै रुख काटीरहेका थालीका वासिन्दालाई पुर्जि जारी गर्न कानूनी जटिलता भएको जिल्ला वन कार्यालयले जनाएको छ ।
नेपालको वन ऐन र नियमावलीमा वर्षको आठ महिना अर्थात जेठ मसान्तसम्म मात्रै रुख काट्ने पुर्जि दिन मिल्ने र त्यसपछि कानूनी जटिलता आएको जिल्ला वन अधिकृत रेणुका न्यौपाने बताइन् । वस्ती विस्तारको घर निर्माणमा छनोट भएका स्थानीयले असारको दोस्रो साता पुर्जिका लागि आएको बताएकी वन अधिकृत न्यौपानेले समस्या समाधानका बारेमा प्रदेशसँग परामर्श शुरु गरेको बताइन् ।
“शुरु देखिनैं ठूलो संख्यामा रुख काट्नु पर्ने बारेमा जानकारी नगरेकाले पनि थप समस्या भएको हो” न्यौपानेले थपिन “प्रदेशसँग कानूनी समाधानका बारेमा केही उपाय निस्केपछि मात्रै थप कुरा गछौं ।” असार मसान्तको चटारो भएकाले पनि केहि समस्या आएको जिल्ला वन कार्यालय हुम्लाले जनाएको छ ।
खार्पुनाथ गाउँपालिकाको थालीमा कर्णाली प्रदेश सरकारले वस्ती विस्तारका नाममा १ सय ८० घरधुरीलाई ८ लाख ८६ हजारका दरले रकम विनियोजन गरेपछि अहिले उक्त घर परिवार आप्mनो घर निर्माणका लागि सामुदायिक वनको रुख काट्न लागेका हुन् ।