सिमकोट । हुम्लाको ताँजकोट गाउँपालिकामा एकजना युवकले आत्महत्या गरेका हुन् । ताँजकोट वडा नम्बर ३ घरभई वडा नम्बर ४ मा बस्दै आएका २२ वर्षिय जीवन बहादुर बोगटीले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
गएको शुक्रबारबाट हराएका बोगटी आज (सोमबार) मृत भेटिएका हुन् । स्वास्थ्य संस्थादेखि घर फर्केका बोगटी आज (सोमबार) सल्लाको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छप्रेला प्रहरी चौकीका इन्चार्ज बलिभद्र पनेरुले जानकारी दिनुभयो । शुक्रबार वेलुका स्वास्थ्य संस्थाबाट विदाभएर गएका बोगटी अचानक चार दिनपछि आज ताँजकोट गाउँपालिकाको वडा नम्बर ३ स्थित रानीवन भन्ने जंगलमा झण्डीएको अवस्थामा फेला परेका हुन् ।
फेज नेपाल संस्थाको तर्फबाट मैला स्वास्थ्यचौकीमा कार्यरत बोगटी शुक्रबार घर जाने भन्दै स्वास्थ्यसंस्थाबाट निस्केको भएपनि घर नपुगेपछि उनी कहाँ गए भनेर खोजि कार्य भैरहेको थियो । उहाँको खोजिका लागि घरका आफन्त र स्वास्थ्य संस्थाका कर्मचारीले खोजि कार्य गर्दा रानीवनको जंगलमा सल्लाको रुखमा पासो लगाएर झण्डीएको अवस्थामा भेटिएका थिए ।
मृत अवस्थामा झुण्डीएका बोगटीको लाशको पोष्टमार्टमका लागि छिमेकी बाजुरा जिल्लाको कोल्टी अस्पतालमा लगिएको जानकारी प्राप्त भएको छ । सदरमुकाम सिमकोट टाढा पर्ने भएकाले गाडी मार्फत मृत लाशलाई पोष्टमार्टमका लागि कोल्टी लगिएको प्रहरी श्रोतले बताएको हो ।
स्वास्थ्यकर्मीले के कारण रुखमा पासो लगाएर आत्म हत्या गरे भन्ने बारेमा केहि थाहा नभएपछि त्यसको खोज अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।