सिमकोट । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले असोज एक गतेबाट छुटमा खाद्यान्न वितरण गर्ने भएको छ । दशैंका लागि प्रति केजी रु सात रुपैया कममा खाद्यान्न वितरण गरिने भएको हो ।
आजभोलीको विक्री भइरहेको मूल्य भन्दा प्रति केजीको सात रुपैया कममा खाद्यान्न वितरण गरिने भएको लिमिटेड हुम्ला शाखाका निमित्त कार्यालय प्रमुख नविन प्रसाद आचार्यले बताउनुभयो । दशैंको लागि लिमिटेडले असोज एक गतेबाट कात्तिक १५ गतेसम्म वितरण हुने चामलमा प्रतिकेजी सात रुपैया मूल्यमा वितरण गरिने भएको उहाँले बताउनुभयो । लिमिटेडले आजभोली प्रतिकेजी जीरा स्टिम मसिनो रु ८५, अरुवा मध्यम ६२, अरुवा मोटो ५८, बास्मती ११०, सोनामन्सुली, ६५, अरुवा मकावनपुर ६० रुपैयामा विक्री वितरण गर्दै आएको छ । २० केजी चामलको रु १४०, २५ केजीको १७५, ३० केजीको २१० छुटमा चामल वितरण गरिने भएको निमित्त कार्यालय आचार्यले बताउनुभयो ।
चामल कम हुँदा वितरण कार्य स्थगीत
नेपाल खाद्यय व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाको गोदाममा चामलको मौजाद कम हुँदा वितरण कार्या बन्द गरिएको छ । दशैँ नजिक आउन लाग्दा चामल कम हुँदा वितरण कार्य बन्द गरिएको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले जानकारी दिएको छ । हुम्लामा यो वर्ष मात्रै होइन विगतका वर्षमा समेत दशैंको मुखमा चामल अभाव हुँदै आएको छ । लिमिटेडका हुम्ला शाखाका निमित्त कार्यालय प्रमुख आचार्यका अनुसार, अहिले गोदाममा १६ सय क्विन्टल मात्र चामल मौजाद रहेकाले वितरण कार्य स्थगित गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “दशैं नजिक आउँदैछ गोदाममा चामल कम छ, त्यसैले असोज एक गतेबाट वितरण हुने भएकाले भदौ महिनामा विक्री वितरण कार्य स्थगित गरिएको हो ।” असोज एक गतेबाट वितरण हुने चामलमा कात्तिक १५ गतेसम्म प्रति केजी सात रुपैया कम सस्तो मूल्यमा चामल वितरण गरिने उहाँले बताउनुभयो ।”
एक पटक नागरीकलाई खाद्यान्न विक्री वितरण गर्दा झण्डै ३३ सय क्विन्टल चामल आवश्यक पर्ने भएपनि यो पटक गोदाममा १६ सय क्विन्टल मात्रै मौजाद रहेको निमित्त प्रमुख आचार्यले बताउनुभयो ।
वर्षेनी हुम्लाको लागि चामल बढी आउने भएपनि दशैंको मुखमा आफुहरुले नपाउने गरेको खार्पुनाथ गाउँपालिका वडा नम्बर चारका नैन बहादुर रावलले गुनासो पोख्नुभयो । खार्पुनाथ गाउँपालिकामा रहेको वितरण केन्द्रबाट आठ महिना देखि खार्पुनाथबासीले चामल नपाएको रावलको गुनासो छ ।
यतिबेला कामको चटारोको समय भएपनि लिमिटेड शाखा हुम्लाले चामल वितरण नर्गदा यहाँका नागरीक मारमा परेको सिमकोट गाउँपालिका वडा नम्बर दुईका अर्का स्थानीय अविराज हमालले बताउनुभयो । हुम्ली जनताले वर्षेनी दशैंको मुखमा चामल अभावको समस्या झेल्दै आउनु परेको हमालको भनाई छ । समस्यालाई सम्बन्धित निकायले सोच्न पर्ने देखिएको उहाँको भनाई थियो ।