सिमकोट । हुम्ला उत्तरी भेगमा रहेको नाम्खा गाउँपालिका वडा नम्बर तीनको लामाखोल्सी गाउँमा स्वास्थ्य संस्था नहुँदा यहाँका नागरीकलाई उपचारमा समस्या भएको छ । वडा नम्बर तीन लामाखोल्सी गाउँमा पहिला देखि नै गाउँमा स्वास्थ्य संस्था नहुँदा गाउँमा विरामी हुँदा उपचारमा थप समस्या हुने गरेको स्थानीयको गुनासो छ ।
गाउँमा विरामी हुँदा उपचारका लागि छिमेकी सिमकोट गाउँपालिकाको वडा नम्बर आठमा रहेको खोल्सी गाउँमा रहेको स्वास्थ्यचौकीमा उपचारका लागि लिने गरेको स्थानीय रिकजेन लामाले बताउनुभयो ।
उहाँका अनुसार, गाउँमा स्वास्थ्यचौकी स्थापना गरिदिनका लागि विभिन्न निकाय र प्रदेश सरकारका मुख्यमन्त्री,मन्त्री लगायतलाई आग्रह गर्दा कुनै सुनुवाई नभएको उहाँले गुनासो गर्नुभयो । लामाले भन्नुभयो, “स्वास्थ्यचौकी नहुँदा चौकीबाट प्रदान गरिने निःशुल्क सेवा पाउनबाट बन्चित हुनु परेको छ ।” गाउँमा गर्भवती भएका महिलालाई सुत्केरी हुन झन थप समस्या भएको छ । यस्तै जटिल केशका विरामीलाई उपचारमा तत्काल समस्या हुने गरेको उहाँको भनाई थियो ।
वडा नम्बर तीन लामाखोल्सी गाउँमा ३१ घरधुरी रहेको उहाँको भनाई थियो । ३१ घरधुरीका नागरीक सामान्य विरामी हुँदा पनि गाउँभन्दा टाढा उपचारका लागि जानुपर्ने उहाँको भनाई थियो । दिनहुँ विरामी जाँच, श्वासप्रश्वास सम्वन्धी सामान्य उपचार, झाडापखालाको उपचार, सुरक्षित मातृत्व, परिवार नियोजन लगायतका स्वास्थ्य सेवाहरु पउनबाट लामाखोल्सीवासी बन्चित रहेको लामाले बताउनुभयो ।
स्वास्थ्यमा समस्या देखापरेमा समयमै उपचार पाउन नसकेको उनको भनाई थियो । स्वास्थ्य चौकी वा आधाभूत स्वास्थ्य केन्द्र भएको भए आवश्यकता अनुसार २४ सैँ घण्टा स्वास्थ्य सेवा उपलवव्ध हुन्थ्यो होला । सेवा पाउथ्यौं होला ।