मासपुरमा तोकियो मतदान केन्द्र

नेपालचेक समाचारदाता मंगलबार, आश्विन ०४, २०७९

सिमकोट । मतदान गर्नका लागि तीन दिनको पैदल लाग्ने हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिका वडा नम्बर ३ मासपुरमा मतदान केन्द्र तोकिएको छ । गाउँमै मतदान केन्द्र तोकिएपछि मत दिनकै लागि तीन दिन हिँड्नुपर्ने मतदाताको बाध्यता हटेको छ ।

राष्ट्रिय जनगणना भएको ३१ वर्षपछि मासपुरको बानादेव प्राथमिक विद्यालयमा मतदान केन्द्र कायम गरिएको छ । गाउँमै मतदान केन्द्र राखिएको खबर सुनेपछि आफूहरूलाई सपनाजस्तै लागेको भन्दै मासपुरका ८२ वर्षीय दलवीर रोकायाले खुसी व्यक्त गर्नुभयो । ०७४ को निर्वाचनमा तीन दिन खर्चिएर मतदान गर्न छप्रेला पुग्न बाध्य भएको रोकायाको अनुभव छ ।

अगामी मंसिर ४ मा हुने निर्वाचनमा भने आफ्नै गाउँमै मतदान गर्न पाउने भएपछि स्थानीय खुसी भएका छन् । स्थानीयका अनुसार पैदल हिँड्नुपर्ने भएपछि अधिकांश मतदाता गाउँमै छुट्ने गरेका थिए । केही मतदाता गाउँमा गाईवस्तु र घरको हेरचाह गर्न बस्थे । आउँदा–जाँदा खानाका लागि रासन पानी बोकेर जानुपर्ने बाध्यता .समेत हटेको छ ।

यसअघि महिलाहरू दूधेबालक र पुरुषहरू रासन बोकेर तीन–चार दिनको समय लगाएर मतदान गर्न जान्थे । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाका अनुसार साबिक मतदानस्थल ४६ कायम छन् । ठाउँसारी कायम चारवटा र सातवटा नयाँ थपसमेत गरी ५७ वटा मतदानस्थल पुगेको छ । हुम्लाको मासपुरमा २३ पुरुष र २७ महिला गरी जम्मा ५० मतदाता रहेको रानाले जानकारी दिनुभयो । २३ घरधुरी रहेको मासपुरको कुल जनसंख्या एक सय तीन रहेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]