सिमकोट । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि हुम्लामा १३ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदातालाई मतदान गर्न सहज बनाउन सुरक्षार्की खटिएका छन् । निर्वाचन सुरक्षाका लागि सुरक्षाकर्मी जनपद र म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका हुन् ।
जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार, निर्वाचन प्रयोजनका लागि चार किसिमका सुरक्षाकर्मी गरी एक हजार तीन सय सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । जिल्लाका ५८ वटै मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी सुरक्षाका हिसाबले वर्गीकरण गरिएको र त्यसैअनुुसार ती सुरक्षाकर्मी निर्वाचनका लागि खटनपटन गरिएको हो । जिल्लाको सुरक्षा निकायले पार्टीका कार्यकर्ताहरुको झडप,आपराधिक समूहको गतिविसध, अवैध हातहतियारलाई चुनौतीका रुपमा लिएका छन् ।
सुरक्षाका हिसाबले जिल्लाका २४ वटा मतदानस्थल अतिसंवेदनशील, २२ जना संवेदनशील र १२ वटा मतदानस्थल सामान्य जसमा ३३५ जना जनपद प्रहरी, ५३८ जना म्यादी प्रहरी, १८५ जना सशस्त्र प्रहरी र २२० जना नेपाली सेना खटिएका हुन् ।
निर्वाचनका लागि खटिने सेना भने जिल्लाकै बराहदल गुल्म रानीवनबाट ११० जना र सुर्खेतबाट आउने नयाँ सबुज गुल्मका ११० जना गरी खटिएका हुन् । सबुज गुल्म सुुर्खेतबाट सेनाको टोली पैदल मार्गबाट हुम्ला पुगेको हो । त्यसैगरी सशस्त्र प्रहरीको ३० जनाको टोली सुर्खेतबाट आएर सर्केगार्डमा निर्वाचन सुरक्षा बेसका रुपमा बसिसकेको छ । यसमा प्रहरीको मोबाइल टोली, सशस्त्र प्रहरी निर्वाचन सुरक्षा बेस र नेपाली सेनाको दक्षिणी क्षेत्रमा खटिने मोबाइल टोलीसमेत त्यही संख्याभित्र पर्नेछ ।
सबै मतदानस्थलमा पुगे कर्मचारी
जिल्लाको सातवटै गाउँपालिकाको ४४ वडा भित्र रहेका सबै मतदानस्थलमा कर्मचारी पुगिसकेको निर्वाचन कार्यालय हुम्लाले बताएको छ । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि हुम्लामा खटिएका सबै कर्मचारीहरू मतदान स्थलमा पुगेका छन् । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका– ६ को हिमालपारीका गाउँ लिमीका मतदानस्थलका कर्मचारी हेलिकोप्टरमार्फत पुगेका हुन् भने बाँकी अन्य कर्मचारी पैदल भएर पुगेको निमित्त निर्वाचन अधिकारी श्याम बहादुर रानाले बताउनुभयो ।
सात वटै गाउँपालिका ५८ वटा मतदान स्थल र ५९ वटा मतदान केन्द्रका लागि खटिएको कर्मचारी र सुरक्षाकर्मी आ–आफ्नो मतदानस्थलमा सामाग्रीसहित सबै राम्रोसँग पुगेका हुन् । उहाँका अनुसार मतदानको दिनभन्दा दुई दिन अगाडि कर्मचारी आफू खटिएको मतदानस्थलमा व्यवस्था अनुसार बिहीबार बेलुका र शुक्रबार बिहान पुगेका हुन् । यहाँ निर्वाचनका लागि साढे चार सय कर्मचारी खटिएका छन् ।