सिमकोट। राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्ला हो । देशका अन्य सदरमुकाम सडक सञ्जालमा जोडिएको भए पनि हुम्ला सदरमुकाम सिमकोट अझै जोडिन सकेको छैन ।
हरेक निर्वाचनमा नेताको चुनावी नारा बनेको हुम्ला जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा स्थानीयले वर्षौंदेखि सास्ती झेल्दै आएका छन् । जिल्ला बाहिर जाने एक मात्रै विकल्प हो हवाई जहाज तर हवाई सेवा पनि नियमित नहुँदा हुम्लीले अझ सास्ति खेप्दै आउनुपरेको हो । उसो यहाँका नागरीकले जहाज चढ्न पनि हप्तौँ कुर्नुपर्छ भने ठूलावडाको भनसुन लगाउनुपर्छ । सडकसँग नजोडिँदा नागरिकले हरेक क्षेत्रमा सास्ती खेपिरहनुपरेको छ ।
यसपल्ट पक्का सडकसँग सिमकोट जोजिन्छ भन्दै हरेक चुनावमा राजनीतिक दल र तिनका उम्मेदवारले स्थानीय मतदातालाई एउटै आश्वासन दिँदै आए तापनि यो समस्याको अन्त्य अझै नभएको स्थानीयवासी बताउँछन् । सत्ता गठबन्धन दल र एमालेले आफ्ना स्थानीयस्तरमा गरिएका प्रतिबद्धतामा यो विषयलाई पहिलो प्राथमिकता राखेका हुन् ।
विसं २०५६ को प्रतिनिधिसभा निर्वाचनदेखि उठाउँदै आएको यो विषय राजनीतिक दलले अहिलेको चुनावमा समेत जोडदारका साथ उठाएका छन् । सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न पहल गर्ने विषय यो पटकको चुनावमा राजनीतिक दलको प्राथमिकतामा परेको छ । तर सडकसँग जोडिने हुम्लीको सपना सपनामै सीमित बनेको छ ।
सदरमुकामसम्म राष्ट्रिय सडक सञ्जाल जोड्ने भए पनि त्यो मुद्दामै सीमित हुँदै आएको छ । चौबिस वर्षसम्म पूर्णता पाउन नसक्नु जिल्लाका लागि दुःखद् भएकाले अब कर्णाली करिडोरले चाँडै पूर्णता पाउने बताइरहेका छन् । २०६४ सालदेखि अहिलेको निर्वाचनसम्म दलले यो मुद्दालाई पहिलो प्राथमिकतामा राखेका छन् । हरेक चुनावमा हुम्लामा लाग्ने नारा नै सडकको हुन्छ । सडक नारामा आउँछ, व्यवहारमा आउँदैन । विसं २०६४, २०७० साल, २०७४ साल र त्यसअघिका चुनावमा पनि नेता र उम्मेदवारका मुखमुखमा सडक थियो तर, अझै सडक यातायातले सिमकोटलाई छुन सकेको छैन ।
समय लागे पनि आवाज उठाएकै कारण कर्णाली करिडोरको निर्माण भएको दलहरूको दाबी छ । अब जतिसक्दो चाँडो सडक निर्माण सम्पन्न गर्नेतर्फ ध्यान जाने नेताहरूले बारम्बार दोहो¥याउने भनाइ भने नयाँ होइन । करिडोरको बाँकी काम नेपाली सेनाले गरिरहेको छ । सरकारले २०५१ सालदेखि हुम्लाको सदरमकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने विषय बजेटमा राख्दै आएको छ ।
कर्णाली करिडोरको कवाडीदेखि हिल्सासम्म एक सय ८४ किलोमिटर छ । यसमा कवाडीदेखि सलीसल्लासम्मको ३९ किलोमिटर नेपाली सेनाले काम सम्पन्न गरेर बुझाइसकेको छ भने सिमकोटदेखि हिल्सासम्मको ९५ किलोमिटर सडक पनि हिल्सा सिमकोट सडक आयोजनाले सम्पन्न गरिसकेको छ ।
अब सिमकोट–सलीसल्ला खण्डको ५० किमी सडकमा दुल्ली कुनादेखि लालिबगरसम्मको ११ किमी बाँकी छ । यो खण्डको सडक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएअनुसार हाल सेनाले काम गर्दै आएको छ । असजिलो चट्टानी क्षेत्र भएका कारण सेनाले डेढ वर्षमा मात्र काम सम्पन्न गर्ने जनाएको छ ।
सडक बनाउन सधैँ नेताको आश्वाशन
“हुम्ला सडक सञ्जनालमा नजोडिदा यहाँका स्थानीयलाई धेरै समस्या छ”, स्थानीय कमल भण्डारीले भन्नुभयो, “नेताहरू आएर झुटा आश्वाशन दिन्छन् अनि फर्किन्छन्, उनीहरूको अरू काम नै के छ र रु उहाँले थप्नुभयो, “चुनाव आउँदा गाउँ पस्ने नेताहरूको एउटै नारा छ, मलाई जिताउनुहोस् यस वर्षभित्र पक्का हुम्लाको मुहार फेरिन्छ, सिमकोट सडकसँग जोडिन्छ । यहाँको गरिबी अन्त्य गर्छौं” ।
सडकसँग नजोडिँदा यहाँका नागरिकले राम्रो सुविधासम्पन्न अस्पतालमा जान नपाएर अकालमै ज्यान गुमाउनुपर्छ । बिरामी भएको समयमा हिँडेर जान सकिँदैन । अधिकांश बिरामीले स्टेचरमा उपचार गर्न लैजाँदा बाटोमै अकालमै ज्यान गुमाउनुपरेको सर्केगाड गाउँपालिका–६ का भक्तराज ऐडीले गुनासो पोख्नुभयो ।
उहाँले भन्नुभयो, “हुम्ला सडक सञ्जालमा जोडिएको छैन, गाउँमा सुत्केरीलगायत अन्य नागरिक जटिल रोग लाग्दा रु सात, आठ लाख तिरेर हेलिकप्टर रिजर्भ गर्नुपर्छ, तर गरिब निमुखालाई त्यो रुपैया हुँदैन र अकालमै ज्यान गुमाउनु पर्छ ।”
यस्तै हुम्लीको जिल्ला बाहिर जाने एक मात्रै हवाई सेवा हुँदा टिकटको सास्ती खेपी रहनुपरेको छ । यहाँ निजी एयरलाइन्सले नियमित उडान नभर्दा टिकटको समस्या हुने गरेको छ । हिउँद याम, दसैँ तिहारजस्ता ठूला पर्वमा हवाईजहाजले नियमित उडान नभर्दा सोझा नागरिकले टिकट नपाउने गरेका हुन् । जहाजले उडान भरे पनि पहुँचवालाले मात्रै जिल्ला बाहिर जान पाउने कुरा नयाँ भने होइन ।
हवाईजहाजले प्रायजसो पूर्वमा उडान भर्दा जिल्लामा खाद्यान्न सङ्टक बारम्बार निम्तिने गरेको छ । हिउँदको समयमा बाक्लो हिमापात हुने हुँदा जहाजले उडान भर्न नसक्दा खाद्यन्न सङ्कट चुलिँदै आउने गरेको हो । त्यसैले हुम्लीका लागि सडक एक सपना भएको छ । सदरमुकाम सिमकोट नै राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । सरकारले भने लक्ष्य प्रत्येक पालिका केन्द्रमा सडक सञ्जाल पु¥याउने भन्ने छ ।
उसो त सरकारले प्रत्येक वर्षको बजेट भाषणमा सिमकोट सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नेलाई पहिलो प्राथमिकतामा राखेको भए पनि अझै सडक छुन सकिरहेको छैन । अहिलेसम्म पनि हुम्लाका लागि सडक पनि सपनाजस्तो भएको छ । सडक नै विकासको पहिलो पूर्वाधार हो । त्यही नभएपछि हुम्लामा अरू के विकास पुग्नु । स्वास्थ्य सेवा लिन जान आउन पनि सडक चाहिन्छ । शिक्षाका लागि पनि सडक चाहिन्छ । अरू व्यापारिक कर्मका लागि त झन नभई हुन्न । सडक सञ्जाल हुम्लामा जोडिन्थ्यो भने त्यहाँको स्याउ बजार झर्न पाउँथ्यो। औषधोपचारका लागि बिरामीले एम्बुलेन्स चढ्न पाउँथे ।
यहाँ राजनीतिक दलका नेता मात्रै नभएर हुम्ला पुग्ने प्रदेशका मुख्यमन्त्री, सङ्घीय सरकारका मन्त्री तथा प्रधामन्त्री जिल्ला पुग्दा उनिहरूको सम्बोधन नै हुम्लालाई राष्ट्रियल सडक सञ्जालसँग जोड्ने हुन्छ तर उनीहरूको भाषणमा सीमित हुन्छ भने यहाँका नागरीक सपनामै सीमित हुन्छ ।
सडक नहुँदा महँगी दिनप्रतिदिन बढ्दै गएको छ । सदरमुकाममा यतिबेला दैनिक उपभोग्य वस्तुको झन आकाशिएको छ । एक क्यारेट अण्डाको रु एक हजार एक सय पर्छ । केही समय अगाडि रु छ सयमा पाउँथ्यो । यस्तै तेलको रु दुई सय पर्छ, अन्य चिनी, बेसार, सागसब्जी, बोइलर कुखुराको मासु, साबुन, मैदालगायतको मूल्यसमेत आकाशिएको छ ।