सिमकोट । गत मंसिर ४ गते भएको निर्वाचनका लागि खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई लिमिबाट उद्धार नगरेपछि उतै रोकिएका छन् । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यालय हुम्लाले निर्वाचन गराउनका लागि खटाएका ६२ जना कर्मचारी र सुरक्षाकर्मी मध्ये मतदान अधिकृत, सुरक्षकर्मी गरेर १३ जना र १२ वटा मतपेटिकालाई ओसारे पनि अन्य कर्मचारी र सुरक्षाकर्मी लगायतका ४९ जनालाई नओसारेपछि उनिहरु लिमिमै अलपत्र परेका हुन् ।
चुनाव गराउनका लागि जिल्ला सदरमुकाम सिमकोटबाट नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट उनिहरुलाई लिमि पुगाए पनि मंसिर ५ गते सो हेलिकप्टरले मतपेटिका र १३ जनालाई सदरमुकाम सिमकोट पुराएको थियो ।
तर निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई मंसिर ६ पुन लिन आउने आश्वसन दिए पनि उनिहरुको उद्धार हुन नसकेको लिमिमा खटिएका कर्मचारीले गुनासो गरेका छन् ।
लिमिमा अत्याधिक चिसो बढेको छ । चिसोले निकै कठिनाई होला जस्तो छ । सरकारको यतातिर किन ध्यान गएन भन्दै लिमिमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले गुनासो गरेका हुन् । पैदल भएर आउने हो भने पनि न्यालु र नारा लेकमा करीव तीन फिट भन्दा बढि हिउँ जमेका कारण लेक पार गर्न नसकिने भएपछि लिमिमै रोकिन बाध्य भएको गुनासो गरेका छन् ।
यो समय हुम्लाको मात्रै नभएर कर्णालीका सबै हिमाली जिल्लामा भएकाले हेलिकप्टर मंसिर ६ गते नै हुम्ला पुग्ने भएको भने पनि डोल्पामा केही ढिलाई भएका कारण अव मंसिर ७ गते हुम्लामा हेलिकप्टर पुगेर लिमिमा रहेका कर्मचारी र सुरक्षाकर्मीहरूलाई उद्धार गरिने भएको हिलिकप्टरको व्यव्स्थापनका लागि पहलमा लागि डिएसपी कृष्णराज ओझाले बताउनु भयो ।