सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले ०७८÷७९ मा सम्पादन गरेका कार्यको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष सुरु भएको पाँच महिनापछि नाम्खाा गाउँपालिकाले अघिल्लो वर्षको सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो ।
गाउँपालिकाहरूले गर्नुपर्ने महत्वपूर्ण कार्यमा अघिल्लो आर्थिक वर्षमा भएका कामको सार्वजनिक सुनुुवाइ कार्यक्रम पर्छ । त्यसैलाई ध्यानमा राखी नाम्खा गाउँपालिकाले अघिल्लो आर्थिक वर्षको सुुनुुवाइ कार्यक्रम तेस्रो पक्षलाई सहजीकरण गराएर कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम लामाले बताउनुभयो ।
कार्यक्रममा सुुरुमा गाउँपालिकाका सबै शाखा योजना, कृषि, पशुु, शिक्षा, स्वास्थ्य, लेखा, उद्यम विकासले आफ्नो आर्थिक र भौतिक प्रगतिलाई एकल रुपमा प्रस्तुत गरिएको थियो । नाम्खा गाउँपालिकाको ०७८÷७९ मा सम्पादन भएका गतिविधिको पनि सार्वजनिक सुुनुुवाइ भएको थियो । कार्यक्रममा योजना, कृषि, पशुु, स्वास्थ्य, शिक्षा, लेखा, उद्यम विकास शाखाबाट भएका गतिविधिको प्रस्तुति गरिएको थियो ।
सो आर्थिक वर्षमा गाउँपालिकाको वार्षिक बजेट ३६ करोड, १९ लाख२७ हजार ३११ रुपैयाँ आम्दानी र त्यति नै बजेट खर्च भएको विवरण प्रस्तुुत गरिएको थियो ।
सुुनुुवाइ कार्यक्रममा सेवाग्रहीबाट उठेका जिज्ञासाको जवाफ निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुुर शाही र सम्बन्धित शाखा प्रमुखले जवाफ दिएका थिए । सेवाग्राहीले शिक्षा, कृषि र योजनामा जिज्ञासा राखेका थिए ।
गाउँपालिका अध्यक्ष प्रेम लामाले सुशासन कायम गर्न भ्रष्टाचार न्यूनीकरण गर्न पहिलो प्राथमिकतामा राखिने सार्वजनिक प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा पुर्ज गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षलाई आमन्त्रण गरिए पनि वडाध्यक्षबाहेक अन्यको उपस्थिति थिएन । कार्यक्रममा राजनीतिक दलको पनि सहभागिता थियो । कार्यक्रमको सहजीकरण पत्रकार महासंघ हुम्ला शाखाले गरेको थियो ।