सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले आफ्नो मातहातमा रहेका स्वास्थ्य चौकीका संयोजकलाई ल्यापटप सहयोग गरेको छ । प्रविधिका सामान प्रदान गर्नुका साथै स्वास्थ्य चौकीबाट प्रदान हुने सबै सेवाको उक्त सामग्रीले रिपोर्टिङ गर्न सहज बनाउनका लागि सहयोग गरिएको हो । उक्त सामग्रीमा ल्यापटप र ट्याबलगायत छन् ।
गाउँपालिकाबाट ल्यापटप र ट्याब उपलब्ध भएपछि काम गर्न सहज हुने भएको सिमकोट गाउँपालिका– ७ डाडाफयाँ स्वास्थ्यचौकीका संयोजक सन्तोष बोहराले बताउनुभयो । स्वास्थ्य चौकीबाट प्रदान हुने सबै प्रकारका सेवाको रिपोर्टिङ अनलाइनबाट गर्नुपर्ने भएकाले ल्यापटप अनिवार्य भएको बेला स्वास्थ्य चौकीलाई यी सामान उपलब्ध हुँदा अब जतिबेला र जुुन स्थानबाट पनि रिपोर्टिङ गर्न सकिने भएको संयोजक बोहराले बताउनुभयो ।
उक्त स्वास्थ्य चौकीले एक÷एक थान ल्यापटप र ट्याब पाएको गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीले बताउनुभयो । स्वास्थ्य चौकीले आफ्नो प्रगति विवरण कम्प्युुटरमा प्रविष्ट गरेर अनलाइनबाट रिपोर्टिङ अनिवार्य गर्नुपर्ने भएकाले स्वास्थ्य चौकीका संयोजकलाई ल्यापटप र ट्याबलेट उपलब्ध गराइएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भण्डारीले अहिले बताउनुभयो ।
पालिकामा रहेका चार वटा स्वास्थ्य चौकी ठेहे, बरगाउँ, डाँडाफया र स्याँडा स्वास्थ्य चौकीलाई आठ वटा ल्यापटप र ट्याब प्रदान गरिएको हो । यसअघि स्वास्थ्य चौकीलाई ल्यापटप नहुँदा दैनिक तथा मासिक रिपोर्टिङ गर्न कठिन हुने गरेको थियो । भने अब सहज हुने भएको छ । सिमकोट गाउँपालिकाका सबै स्वास्थ्य चौकीमा इन्टरनेट सेवासमेत गाउँपालिकाले जडान गरेको छ । त्यसैगरी, स्वास्थ्य शाखाले १३ जना नर्सिङका स्वास्थ्यकर्मीलाई एक एक थान, झोला र टर्चलाइट पनि प्रदान गरेको छ ।