हुम्लामा विकाससँगै प्रदूषण, मासिँदै कर्णाली सभ्यता

नेपालचेक समाचारदाता शनिबार, बैशाख ०९, २०८०

सिमकोट । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लामा सडक पूर्वाधारको विस्तारसँगै प्रदूषण बढ्न थालेको छ । सडक पूर्वाधारको विकास र विस्तार भएसँगै कर्णाली नदी प्रदूषित हुन थालेको हो भने स्थानीय उत्पादन घट्दा परनिर्भरता पनि बढ्न थालेको हो ।

कर्णाली करिडोरको सडक विस्तारसँगै हुम्लाको सर्केगाड गाउँपालिकाको मुख्य बजार सर्केगाडमा साविकको साँया गाविस र गोठी गाविसमा मानिसहरूका साथै बाहिरी जिल्लाबाट बसाइँ सरेर सडक छेउछाउमा बस्न आउने क्रम पनि बढ्न थालेको छ ।

साँयाका ४ वटा गाउँका मानिसहरूको दैनिक उपोभोग गर्ने सामानहरूको मुख्य बजार भएका कारण पनि सर्केगाडमा बजार विस्तारको क्रम बढेको हो । बजार विस्तारको क्रम बढ्न थालेसँगै कर्णाली नदी पनि दुषित हुन थालेको छ ।

बजारबाट निस्किने फोहोर तथा ढल कर्णाली नदी किनारमा फाल्ने र नदी छेउछाउ खुला शौच गर्ने क्रम बढेका कारण कर्णाली नदी दूषित बन्दै गएको भन्दै स्थानीयहरूले दुस्खेसो पोखेका छन् ।

कर्णाली करिडोर निर्माण हुनुअघि यहाँका मानिसहरू कर्णालीकै पानी पिउने गर्दथे । तर, करिडोर निर्माणसँगै बस्ती विकासको क्रम बढ्दा नदी दुषित हुन थालेपछि कर्णालीको पानी नुहाउन, लुगा धुन तथा भाडा माझ्न मात्रै प्रयोग गर्न थालिएको स्थानियवासी बताउँछन् ।

स्थानीय रेलकला शाहीले शौचालयको ढल, खानेपानीको ढल निकासी गर्ने क्रम कर्णाली नदीमा बढेसँगै नदी प्रदूषित हुन पुगेको बताइन् । उनले कर्णालीमा फोहोर बढ्दा पानी पिउन योग्य नरहेको बताइन् । त्यस्तै, अर्का स्थानीय भीमबहादुर सिंहले कर्णाली नदीको छेउछाउमा बस्तीहरू बढेसँगै फोहोर बढेकाले पानी पिउन योग्य नरहेको बताए । मृत पशुचौपायाहरू पनि नदीमा नै फाल्ने गर्दा नदी अत्याधिक दुषित भएको बताए ।

कर्णाली करिडोरको सडक विस्तारसँगै विकासको धमिलो बाछिटा हुम्लाको पर्यावरणमा देखिन थालेको विषयमा भने स्थानीय सरकार अनविज्ञ देखिएको छ । सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की ९मुक्ति० कर्णाली नदीमा बजारको फोहोर फाल्ने गरेको विषयमा आफू जानकार नरहेको भन्दै अब बजार अनुगमन गरेर नियन्त्रण गर्न अभियान सञ्चालन गर्ने बताउँछन् । उनले ढल निकासी नदीमा गर्नु नराम्रो भएको भन्दै आफैँले उपभोग गर्ने पानीमा ढल मिसाउनु सरासर गलत भएको बताए ।

करिडोर अन्तर्गत यातायात सुचारु भएका हुम्ला जिल्लामा मात्रै नभई बाजुराका विभिन्न स्थानमा भएका बजारबाट निस्किने फोहोर पनि कर्णाली नदी किनारमा फाल्ने गरिएको छ । बाजुराका पर्यटन व्यवसायी जनेश भण्डारीले कर्णाली नदी संरक्षण गर्न अभियान सञ्चालन गर्नुपर्ने बताउँदै नदीको पानी कैलाश जलको रुपमा उद्योग स्थापना गर्नुपर्नेमा जोड दिए ।

नदीको संरक्षण नगर्ने हो भने भविष्यमा पहाडी क्षेत्रका बासिन्दाहरूले पानी पिउन नपाउने स्थिति सिर्जना हुने बताए । उनले कर्णालीको पानी पानी उद्योगको रुपमा विकास गरी विदेशमा निर्यात गर्न सक्नुपर्ने बताए । उनले भविष्यमा मानव सभ्यता जोगाउने भुमिका कर्णालीले खेल्ने पनि बताए ।

यता, कर्णाली करिडोरमा यातायात सुचारु भएसँगै हुम्ला जिल्लाको आन्तरिक उत्पादन पनि लोप हुन थालेको छ । यहाँका स्थानियहरू आन्तरिक उत्पादलाई प्रयोग गर्ने भन्दा पनि नेपालगञ्ज, रुपडिया लगायत तराईका जिल्लाबाट आयात गरी उपभोग गर्न थालेका कारण पनि आन्तरिक उत्पादन लोप हुन थालेको हो ।

स्थानीय प्याराजंग शाहीले यातायात सुचारु हुँदा स्थानीयहरू काम गरेर खाने भन्दा पनि किनेर खानेमा निर्भर हुने गरेको बताए । हुम्लाको उत्पादनले बाहिरका बजारलाई बिस्थापन गर्नुपर्नेमा बाहिरका सामग्रीहरूले स्थानीय बजार बिस्थापन गरेको बताए । बाहिरको सामग्रीलाई रोक्नको लागि भण्डारण केन्द्रको आवश्यक्ता रहेको बताए ।

त्यस्तै आन्तरिक पर्यटक दीपक आचार्यले विकाससँगै विकृति पनि भित्रिरहेको महशुस गरेको बताए । उनले विकासले स्थानीय उत्पादनहरू लोप हुँदै गएको बताए । उनका अनुसार हुम्लामा पछिल्लो समय बढ्दो शहरीकरण, स्थानीय उत्पादनमा ह्रास र परनिर्भरता बढ्दै गएको छ ।

कुल क्षेत्रफल मध्ये ४ हजार २ सय ६७ हेक्टर खेतीयोग्य जमिन रहेको हुम्ला जिल्लामा कोदो, फापर, चिनो, कागुनो, नाफल, चुली, मकै, सिमी, उवा, जौ, मासी धान, आलु, खामु, स्याउ लगायत अन्नबाली र फलफूल उत्पादन हुँदै आएपनि सडक विस्तारका कारण परनिर्भरता बढेको छ । यसरी खाद्य आयत निरन्तर बढ्दै गए हुम्ला जिल्ला लगायत आसपासका क्षेत्रमा खाद्य सुरक्षाको अवस्था चिन्ताजनक देखिने प्रायः निश्चित छ । यसका लागि राज्यका सम्बन्धित निकायले बैलैमा ध्यान दिन जरुरी देखिन्छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]