सिमकोट । हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकाले शुक्रबारबाट तयार पारिएको नयाँ स्थानीय पाठ्यक्रमको पालिका भित्र रहेका सामुदायीक विद्यालयमा पठनपाठन सुुरु गरेको छ ।
सात महिना लगाएर तयार पारेको पाठ्यक्रमको मस्यौदालाई सरोकारवाला पक्षले अनुमोदन गरेपछि कक्षामा पठनपाठन सुुरु गरिएको हो ।
गाउँपालिका शिक्षा शाखाका प्रमुख जयरुद्र ढकालले आजबाट गाउँपालिकाभित्रका १७ वटा विद्यालयमा शुक्राबारबाट एक साथ पढाइ सुुरु भएको बताए ।
पाठ्यक्रमको पुस्तक छपाइ नभए पनि हाललाई प्रिन्ट गरेर प्रत्येक विद्यालयलाई उपलब्ध गराइएको, त्यसलाई आधार मानेर तत्काल पढाइ सुुरु भएको र केही समयमै छपाएर विद्यालय र विद्यार्थीको हातहातमा उपलब्ध हुनेछ ।
‘हाम्रो ताँजाकोट’ नाम दिइएको स्थानीय पाठ्यक्रम भएको पुस्तकमा ६ वटा विषय क्षेत्र समेटिएका छन्। जसमा स्थानीय पेसा, व्यवसाय, प्रविधि हाम्रो सम्पदा, हाम्रो सामाजिक मूल्य–मान्यता, सकारात्मक व्यवहार, प्राकृतिक प्रकोप र विपद व्यवस्थापन तथा स्वास्थ्य र सरसफाइ, गैरकाष्ठ वन पैदावारलाई समावेश गरिएको छ ।
शाखाले पाठ्यक्रम तयारीको काम मंसिरबाट सुुरु गरी जेठमा तयार पारेको हो । पाठ्यक्रम तयारीका लागि स्थानीय स्रोत व्यक्तिको सहयोग लिइएको थियो ।
गाउँपालिकाभित्रका १७ वटा विद्यालयका कक्षा एकदेखि आठसम्म यसको पढाइ सुुरु भएको हो । यसबाट सबै विद्यालयमा एक हजार आठ सय विद्यार्थीले अध्ययन गर्न पाएका हुन् । गाउँपालिका अध्यक्ष लालकेश जैसीले गाउँपालिकाको समग्र विषयवस्तुु समेटेर तयार पारिएको पाठ्यक्रम विद्यार्थीका लागि निकै उपयोगी हुने बताए ।
यो संघीयताले प्रदान गरेर स्थानीयलाई बढवा दिन यसको प्रयोग गर्न गाउँपालिका सफल भएको उनको भनाइ छ । विद्यार्थीलाई गाउँपालिकाबारे सानैदेखि जानकारी गराउन पाठ्यक्रम उपभोगी हुने विश्वास गरिएको छ ।
जिल्लाका सात वटामध्ये ताँजाकोट गाउँपालिका स्थानीय पाठ्यक्रम तयार पारी पठनपाठन सुुरु गर्ने पहिलो गाउँपालिका भएको छ ।