काठमाडौं : नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले नेता बालकृष्ण खाँणलाई जेल जानबाट नरोकिएकोमा आपत्ति जनाएका छन्। शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता श्रेष्ठले एउटा परिवारको सदस्यलाई जेल जानबाट नरोकिएकोमा आपत्ति जनाएका हुन्।
‘एउटा साथी पुर्पक्षमा थुनिएको छ। उसलाई त्यहाँ पुग्नबाट रोक्न सकिन्थ्यो। किन रोकिएन? त्यो साथीको बारेमा अदालतको निर्णय आएको छैन। पुर्पक्षमा जसलाई पनि लैजान सकिन्छ। पुर्पक्षमा गएकोलाई दोषी ठान्न सकिँदैन,’ उनले भने।
नेता श्रेष्ठले पार्टीको सदस्य जेलमा रहेको बताउँदै सद्भाव व्यक्त गर्नु पर्नेसमेत बताए। ‘परिवारको सदस्य जेलमा रहेको हुनाले हामीले सद्भाव व्यक्त गर्नुपर्छ। निर्दोष भएर निस्कियोस् भनेर सबैले लाग्नुपर्छ,’ उनले भने।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता एवं पूर्वगृहमन्त्री खाँणलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ।