सिमकोट । हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका–३ लामाखोल्सी गाउँ अब दल बिहिन गाउँ बनेको छ ।
मंगलबार गाउँका सबै स्थानीयवासिन्दाको सामुहिक भेलाले गाउँका कुनैपनि व्यक्ति कुनैपनि दलमा नलाग्ने घोषणा गरेपछि अबदेखि ३१ घरधुरी भएको लामाखोल्सी अबदेखि दल बिहिन गाउँ बनेको हो
पछिल्लो समय प्रतिनिधिसभा र विभिन्न प्रदेश सभाका सांसदहरुले व्याक्तिगत स्वार्थमा लागेर पार्टी निर्देशन बिपरित फ्लोरक्रर गरेका घटना सार्वजनिक भएपछि कुनैपनि दल र त्यसका नेता मौखिक रुपमा भनेझैं व्यवहारमा लागु नगरेको भन्दै आफूहरुले सामुहिक रुपमा दल त्यागको घोषणा गरेको नेपाली कांग्रेसबाट निर्वाचित नाम्खा गाउँपालिका–३ का वडा सदस्य तञ्जन लामाले जानकारी दिए ।
‘पछिल्लो समय सबै दल व्यक्तिगत स्वार्थमा लागे, हामीलाई निर्वाचनमा दिएका आश्वाशन कुनैपनि पुरा गरेनन्’ लामाले नेपालचेकसँग भने, ‘दल र नेताको व्यक्तिगत स्वार्थमा हामीहरु गाउँमा किन विवाद बढाउने भनेर हामीले गाउँलाई दल बिहिन बनाउँदै स्वतन्त्र बन्ने निर्णयमा पुगेका हौं ।’
प्रमूख दल नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रकातर्फबाट वडामा निर्वाचित वडा सदस्य, तिनवटै पार्टीका पालिका र वडा स्तरका जिम्मेवार व्यक्तिहरु बसेर वडालाई दल बिहिन घोषणा गरेको नेकपा एमाले नाम्खा गाउँपालिका सदस्य पेमारिक्जाङ लामाले बताए । लामो समयदेखि आफू एमाले पार्टीमा रहेर काम गरेको भएपनि खासै मौखिक आश्वाशन अनुसार व्यवहारमा लागु नभएको बताएका लामाले पार्टी प्रदेश र संघको सरकारमा रहेपनि गाउँलाई विकासका हिसाबले केहि वास्ता नगरेकोले बाध्यभएर गाउँलेको प्रस्तावमा स्वतन्त्र बनेको उल्लेख गरे । ‘अब हाम्रो पुरै गाउँमा कुनैपनि दल छैन्, हामी गाउँको दलका रुपमा रहने सल्लाह अनुशार सबैले यसअघि आवद्ध दल त्यागेर लागेका हौं’ लामाले थपे ।
जुन पार्टी आएपनि आफ्नो स्वार्थ र आफन्तको भविष्यमै केन्द्रित हुने प्रवृती दोहोरिए पछि सबैले आवद्ध भएको दल त्याग्न तयार भएको माओवादी केन्द्र नाम्खा गाउँपालिका कमिटिका सचिवालय सदस्य तोप्छेन लामाले बताए ।
गाउँको संयुक्त बैठकमा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित तञ्जन लामा, एमालेबाट निर्वाचित नाम्खा गाउँकार्यपालिका सदस्य लैकु लामापनि दल त्यागेर स्वतन्त्र बनेको घोषणा गरेका छन् ।
गाउँलेको घोषणा सँगै खोल्सी हुम्लाकै पहिलो दल बिहिन गाउँ बनेको छ ।