मुगु । सोमबार मुगुमा भएको जिप दुर्घटनामा ज्यान गुमाएकाहरुका शवको चार दिन बितिसक्दा पनि पोष्टमार्टम हुन सकेको छैन । मृतकहरुका शव पोष्टमार्टमको लागि चिकित्सकहरुको टोली मंगलबार नै शव राखेको सोरु जिमा स्वास्थ्य चौकी तारापानीमा पुगे पनि मृतकका आफन्तहरुले शव नबुझिदिँदा पोष्टमार्टम हुन नसकेको हो ।
आफन्तहरुले मृतकका शवहरु घर पुर्याइदिन पहल गर्नुपर्ने, परिवारहरुको भरण पोषणका लागि आर्थिक सहयोग गर्नुपर्ने, जिप धनीले राहत दिनुपर्ने जस्ता माग राखेर शव नबुझिदिँदा पोष्टमार्टम हुन नसकेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए ।
उनका अनुसार मृतकका आफन्तहरुलाई शव बुझेर पोष्टमार्टममा सहयोग गरिदिन क्षतिपुर्ती, राहत र लाश घरसम्म पुर्याउन गृहमन्त्रालय तथा प्रदेश सरकारलाई अनुरोध पत्र पठाउँछु भन्दा पनि मानिरहेका छैनन् । आफन्तहरुले जिप धनीको रोहभरमा कागज गर्नुपर्ने, विश्वास लाग्दो पहल हुनुपर्ने भनिरहेका छन् ।
आफन्तहरुले शव नबुझिदिँदा शवहरु क्रमशः गल्दै, सड्दै गएको र चार दिनदेखि स्वास्थ्य संस्थाको सेवा अवरुद्ध भइ स्वास्थ्य संस्था नजिक जान पनि गाह्रो भइरहेकाले पीडितको माग सम्बेधन गरी यथाशिघ्र शव उठाउन पहल गरिदिन जिमा स्वास्थ्य चौकीका प्रमुख कर्णबहादुर सावतले आग्रह गरेका छन् । सरकार तथा अन्य निकायले घाइतेको उपचार र उद्धारमा मात्र ध्यान दिएका छन् ।
तर, गहिरो शोकमा परेका मृतकका परिवार र शवबारे कसैले ध्यान दिएका छैनन् । मृतकका आफन्तहरुलाई घटनास्थलसम्म आउन तीन दिन लाग्छ । गरिव आर्थिक अवस्था कमजोर भएका र त्यसमाथि शोकमा परेका बेला आफन्तहरु मृतकको दाहसंस्कार कसरी गर्ने भनेर चिन्तित छन् ।
सरकारले शवलाई घरसम्म पुर्याइदिए गाँउघरमा दाहसंस्कार गर्न सहज हुने मृतकका आफन्तहरु बताउँछन् । सोमबार सोरु गाँउपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग १ ज ७७६२ नम्बरको बोलेरो जिप सोरु गाँउपालिका ७ चिप्लेगाडामा दुर्घटना हुँदा जिपमा सवार पाँच जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।
घाइते चारै जनालाई मंगलबार चिकित्सकिय सल्लाहबाट थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको थियो । घटनास्थलमै मृत्यु भएका हुम्ला जिल्ला सर्केगाड– २ रिपगाँउका राम परियार, प्रकाश बोहोरा, सोही ठेगानाका अर्का राम परियार र हुम्लाकै पिउस परियारको शवलाई घटनास्थल नजिकै रहेको जिमा स्वास्थ्य चौकीमा राखिएको थियो भने उपचारका लागि जिल्ला अस्पताल मुगु ल्याउँदै गर्दा बाटोमा मृत्यु भएका मुगु सोरु– ५ का वडा सदस्य लोकजंग नेपालीको शव जिल्ला अस्पतालमा राखिएको छ ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले गत साउन ३० गते नेपाल सरकार गृह मन्त्रालयलाई पत्र लेख्दै घाइतेलाई नेपालगञ्जसम्म र मृतकका शवलाई हुम्ला सर्केगाढसम्म हेलिकप्टरमार्फत पुर्याइदिन तथा सो को खर्च मन्त्रालयले नै व्यहोर्ने बताए पनि नेपाली सेनाको हेलिकप्टरले घाइतेको मात्र उद्धार गर्दा शवहरु चार दिनदेखि स्वास्थ्य चौकीमा सड्दै गएका हुन ।