सिमकोट । साउन १३ र १४ गते परेको अविरल वर्षाको कारण आएको बाढी पहिरोले विद्युतमा क्षेति पुर्याउँदा हुम्लाको मध्ये भेगमा रहेका दुईवटा गाउँ अन्धकारमा बस्दै आएका छन् । विद्युत आपूर्ति बन्द हुँदा हुम्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिका– २ रिप र ३ उनापानी गाउँका स्थानीय बासिन्दा सल्लाको दियालोको भरमा उज्योलो गर्दै आएका छन् । पहिरोले क्षेती पुर्याएको नहर तथा पावर हाउस हालसम्म मर्मत नहुँदा स्थानीय दियालो बाल्न बाध्य भएका हुन् ।
विद्युत हाउस नबन्दा तीन हप्तादेखि वडा नम्बर ३ उनापानी गाउँका बासिन्दाले सल्लाको दियालो बाल्न बाध्य हुँदै आएको महेश थापाले बताउनुभयो । यसअघि तीन सय घरधुरीका लागि विद्युत् आपूर्ति गर्दै आएको लघुजलविद्युत् आयोजनाको नहर पावर हाउसलाई गत साउन १२ गते आएको पहिरोले क्षती पुर्याएपछि त्यसयता गाउँमा अन्धकार छाएको स्थानीय थापाले गुनासो गर्नुभयो ।
विद्युत् आपूर्ति भइरहेको कारण स्थानीय सोलारको विकल्प समेत नगरेको कारण हाल जङ्गलमा गएर सल्लाको झरो टिपेर ल्याई दियालोको रुपमा बाल्नु परी रहेको हो । पावर हाउसलाई यति धेरै समयसम्म मर्मत गर्ने तर्फको कसैको ध्यान जान नसकेको उहाँले गुनासो गर्नुभयो । अब कहिले मर्मत हुन्छ भन्नै नसकिने बताउनुभयो ।
साढे दुई सय घरधुरी रहेको वडा नम्बर २ को रिप गाउँको समस्या पनि उस्तै रहेको छ । रिप गाउँका बासिन्दाहरू पनि सल्लाको झरो बालेर उज्यालो गर्न बाध्य छन् । उक्त गाउँका लागि विद्युत् आपूर्ति गर्दै आएको रिपगाड लघुजलविद्युत् आयोजनाको नहर पावर हाउसलाई पनि असार १२ र १३ गते आएको बाढी पहिरोले क्षती पुर्याएपछि विद्युत् सेवा बन्द भएको काली बहादुर महताराले बताउनुभयो ।
उज्यालोमा बस्न बानी परेका स्थानीयलाई अहिले फेरी पुरानै जमानामा फर्काको भन्दै विद्युत् सेवा बन्द हुँदा साह्रै कठिन भएको महताराले बताउनुभयो । स्थानीयवासीले पहिरोले क्षेती पुर्याएको २५ किलोवाटको लघुजलविद्युत् आयोजना मर्मतका लागि वडा र गाउँपालिकामा माग गर्दा कुनै सुनुवाई हुन नसकेको गुनासो गरेका छन् ।
वडा नम्बर ३ का वडा अध्यक्ष अकिल कार्कीले धेरै ठुलो क्षती पुगेको कारण तत्काल मर्मत गर्न कठिन भएको बताउनुभयो । क्षेतीको विवरण सहित पावर हाउस नहर मर्मतका लागि मुचुल्का सरोकारवाला निकायमा पेश गर्ने कार्य भएको भएपनि हालसम्म मर्मत गर्ने निकाय नभेटिएको बताउनुभयो ।