सिमकोट । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाले पहिलो पटक महिला प्रमुख प्रशासकीय अधिकृत पाएको छ । नेपालको संविधान २०७२ ले व्यवस्था गरेको संघीय लोकतान्त्री व्यवस्था अनुसार २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनयता अधिकांश समय निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालन भएको सर्केगाड गाउँपालिकामा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा शान्ति लामालाई पठाएको थियो ।
मन्त्रालयको निर्णय अनुसार लामा आफ्नो कार्यक्षेत्र हुम्ला जिल्ला पुगेर आफ्नो कार्यभार सम्हाल्न थालेपछि सर्केगाड गाउँपालिकाले औपचारिक रुपमा पहिलो महिला प्रशासकीय अधिकृत पाएको हो ।
मंगलबार बिहान सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकाय र प्रमुख प्रशासकिय अधिकृत शान्ति लामा सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट आइपुग्नु भएको हो । अधिकृत लामा पुगेसँगै पालिकामा हुने निमित्त र सिमित्तको खेलोमेलोको पनि अन्त भएको छ । मन्त्रालयको निर्णय अनुसार आउनु भएकी अधिकृत लामा अबको केहि दिनमै गाउँपालिका गएर कामको शुरुवात गर्नु हुने पालिका अध्यक्ष ठानबहादुर रोकायाले बताउनुभयो ।
लामो समय निमित्तकै भरमा सञ्चालन भएका हुम्लामा स्थानीय तहबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीका चाङ्ग लागेपछि मन्त्रालयले दरबन्दी अनुसारकै प्रमुख प्रशासकीय अधिकृत पठाएको हो ।
मन्त्रालयले सर्केगाडमा लामासहित ताँजाकोट गाउँपालिकामा सजना कार्कीलाई पहलिो पटक महिला अधिकृत पठाएको छ । यस्तै, अदाचनचुली गाउँपालिकामा गिमन थापामगर, चंखेली गाउँपालिकामा सीताराम राईलाई खटाएको छ भने खार्पुनाथ गाउँपालिकामा रमेश सुनुवार, सिमकोट गाउँपालिकामा सुवास आले र नाम्खा गाउँपालिकामा शैलेशकिशोर राई चाम्लिङलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ ।
अन्य छ वटा गाउँपालिकामा खटाइएका अधिकृत आउन भने बाँकी रहेको छ ।