हुम्लाको दक्षिण क्षेत्रको ताँजाकोट गाउँपालिकामा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा गाउँपालिकाको कामकाज ठप्प भएको छ ।
वर्ल्ड लिंक कम्युनिकेसन प्रालिको इन्टरनेटको डिभाइसमा समस्या आउँदा सेवा अवरुद्ध भएको हो । असार २९ गतेबाट अवरुद्ध भएको इन्टरनेट सेवा सुचारु नहुँदा आर्थिक वर्षको अन्त्यमा गाउँपालिकाका काम ठप्प भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताए ।
विभिन्न योजना र अन्य विकासे गतिविधिको चेक काट्ने काम भए पनि साट्न नपाएको सेवाग्राहीको गुनासो छ । असार ३० गते अदानचुली गाउँपालिकामा गएर काम गरे पनि उता काम बढी भएका कारण काम नभ्याएको निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकालको भनाई छ ।
इन्टरनेट समस्याले हिसाब मिलाउन गर्न नसकेर कोष तथा लेखा नियन्त्रण कार्यालयलाई प्रतिवेदन पठाउन नसकिएको गाउँपालिकाले जनाएको छ ।
सूत्रमार्फत काम गर्नुपर्ने भएका कारण हालसम्म गाउँपालिकाले खर्च निकाल्न र फ्रिज रकमबारे पनि भन्न नसकिएको उनले बताए । वर्ल्ड लिंकलाई खबर गरेर जुम्लाबाट कर्मचारी आइपुगे पनि इन्टरनेट बन्न नसकेको बताइएको छ ।
इन्टरनेट सेवा अवरुद्ध हुँदा स्वास्थयचौकीमा समेत इन्टनेटबाट हुने कामकाजमा बाधा पुगेको गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र श्यांकुले बताए । मर्मत कार्य जारी भएपनि कहिलेसम्म बनिसक्ने हो भन्ने बारेमा अझै टुंगा नलागेको गाउँपालिकाले जनाएको छ ।