सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को दुर्गम वस्ती दुर्पामा बिजुली बत्ती बलेपछि गाउँ नै झिलीमिली बनेको छ । हिल्दुम विद्युत वितरण केन्द्रको विद्युत लाइन विस्तार गर्ने कार्य पूरा भएपछि दुर्पा गाउँ बत्तीले झिलीमिली बनेको हो ।
वर्षौदेखि बुकीको भरमा जीवन बिताएका दुर्पा गाउँका नागरिक अहिले बिजुली बत्ती बलेपछि खुसी भएको वडाध्यक्ष भरतजंग शाहीले बताउनुभयो । गाउँपालिका अधयक्ष,उपाध्यक्ष, पाँच नम्बरका वडाध्यक्ष लगायत अन्य जनप्रतिनिधिको लामो प्रयासपछि दुर्पा गाउँमा बिजुली बत्ती बाल्न सफल भएको वडाध्यक्ष शाहीले बताउनुभयो । वडाले प्रत्येक घरलाई एउटा बत्ती बाल्न आवश्यक पर्ने सबै सामग्री र वायरिङ गर्न सहयोग गरेको वडाध्यक्ष शाहीको भनाई थियो ।
अब विद्युत सेवा उपभोग गर्न पाइने भएपछि वर्षौदेखिको बिजुली बत्ती बाल्ने सपना पुरा भएको स्थानीय गोर्ख रोकायाले बताउनुभयो । गाउँमा विद्युत लाइन पुगेपछि सामान्य कामका लागि अन्यत्र जानु पर्ने बाध्यता हटेको छ । भने विद्युत सेवाको शुरुवात भएपछि विद्यालयमा ठुलो राहत पुगेको रोकायाले बताउनुभयो । दुर्पामा ५७ घरधुरी बसोबास गर्दै आएका छन् ।
अहिले पूरै गाउँ झिलिमिली छ । विद्युत् सुविधा पुगेपछि कतिपयले आयआर्जनका विभिन्न काम पनि गर्न सकिने बताउने गरेका छन् । रातको समयमा पनि उज्यालोमा घरायसी कामधन्दा गर्न, बालबालिकालाई पढ्न सहज हुनुको साथै मोेबाइल चार्ज गर्न, रेडियो टेलिभिजनजस्ता सञ्चारका साधनको प्रयोग अब सजिलै गर्न सकिने भएको रोकायाले बताउनुभयो ।
झरो बाल्दा निस्कने धुवाँका कारण यहाँका नागरीकलाई श्वासप्रश्वाससम्बन्धी समस्या हुने गरेको थियो । बत्ती बलेपछि दुर्पा गाउँ अब चौबिसै घण्टा झिलिमिली हुने भएको छ । यसअघि स्थानीयले सोलारबाट बत्ती बाल्दै आएको भएपनि अब हिल्दुम वितरण केन्द्रको विद्युत पुगेपछि सोलार प्रयोगको अन्त्य भएको वडाध्यक्ष शाहीले बताउनुभयो ।