सिमकोट । हिमाली जिल्ला हुम्लाको सरदमुकाममा रहेको सिमकोट गाउँपालिकाले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । फागुन १ गतेका दिन सार्वजनिक विदा दिने निर्णय गर्दै आइतबार सिमकोट गाउँपालिकाले एक सूचना जारी गरेको हो ।
१ गतेका दिन गाउँपालिका मातहत रहेका सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था लगायतका सम्पूर्ण संघ संस्थामा सार्वजनिक बिदा दिइएको कार्यवाह अध्यक्ष नन्द रावतले बताउनुभयो ।
२०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा माओवादीहरुले जनयुद्ध दिवस मनाउने गर्दछन् । सशस्त्र जनयुद्ध नै लोकतान्त्रिक गणतन्त्र स्थापनाको आधार भएकाले दिवस मनाउनुका साथै उक्त दिन सार्वजनिक विदा दिइएको कार्यवाहक अध्यक्ष रावतले बताउनुभयो ।
वि.सं. २०५२ फागुन १ गते प्रारम्भ भएको महान जनयुद्ध उत्पीडित समुदाय, दलित, आदिवासी जनजाती, पछाडी परेको वर्ग, महिला, गरिव र निमुखाको मुक्ति एवं विभेद, असमानता र उत्पीडनको अन्त्यका लागि महत्वपूर्ण दिन भएको रावतको भनाई थियो ।
यसअघि जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने सरकारी निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले गत पुस १३ गते जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा संलग्न संस्थाको भावी काममा समेत प्रभाव पर्नसक्ने ठहर गर्दै सर्वोच्चले सरकारको सो निर्णय कार्यान्वयन नगर्न आदेश समेत दिएको थियो ।