सिमकोट । आइतबार मध्यान्ह पाँच बजेबाट अवरुद्ध भएको नेपाल टेलिकमका टेलिफोन सेवा सोमबार विहान साढे दश बजेबाट सुचारु भएको छ । आइतबार मध्यान्हबाट हुम्लामा इन्टरनेट, ल्यान्डलाइन, मोवाइल सेवा अवरुद्ध भएको थियो ।
शनिबारदेखि यता हुम्ला सहित कर्णाली प्रदेशका अधिकांस जिल्लामा हिमपातका साथै पानी परेका सिस्टममा समस्या आएको नेपाल टेलिकम, दुरसञ्चार कार्यालय हुम्लाका कर्मचारी राम बहादुर बोहराले बताउनुभयो । आइतबार हिमपात हुँदा हुम्लाको सिस्टममा समस्या नआएपनि डाफे लेखमा रहेको टावरमा पावर नहुँदा टेलिफोन सेवा अवरुद्ध भएको बोहराले बताउनुभयो ।
सिस्टममा समस्या भएकाले नेपाल टेलिकमको सम्पुर्ण सेवा अवरुद्ध भएको र अहिले सेवा सूचारु भएको उहाँले बताउनुभयो । अठार घण्टा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा परेका थिए । अवरुद्ध टेलिफोन सेवा सुचारु हुँदा समस्या हटेको छ ।