काठमाडौं । मोरङको उर्लाबारीमा सन्थाल समुदायको व्यवस्थित बस्ती निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।
अल्पसंख्यक र लोपोन्मुख समुदायको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत बस्ती निर्माणको सम्झौता भएको हो ।
शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय आयोजना कार्यान्वयन एकाइका प्रमुख गंगाप्रसाद यादवले मोरङको उर्लाबारी नगरपालिकास्थित रातोहोली खोल्सी किनारमा बस्ती निर्माण गर्न लागिएको जानकारी दिए ।
उनले भने, ‘सन्थाल बस्ती निर्माणका लागि सम्झौता भई ठेकेदार कम्पनीले कार्यादेश समेत पाइसकेको छ । अब काम छिट्टै शुरू हुन्छ ।’
यसअघि सो बस्ती निर्माणका लागि गुरुयोजना तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सम्पन्न भइसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष फागुन १८ गते सो बस्ती निर्माणको शिलान्यास गरेका थिए ।
एकाइ प्रमुख यादवका अनुसार अबको २ वर्षभित्र सो एकीकृत बस्तीको निर्माण सम्पन्न हुनेछ । कूल लागत १८ करोड रुपैयाँमा निर्माणको जिम्मा सगुन÷शर्मा (ज्वाइन्ट भेञ्चर) ले पाएको छ । अहिले नदी किनारामा ७० सन्थाल घरपरिवार नरकट र खरको छानाले बारेर बनाएको घरमा बसिरहेका छन् ।
बस्तीसँगै सामाजिक तथा आर्थिक पूर्वाधारअन्तर्गत विद्यालय, स्वास्थ्य चौकी, सडक, खानेपानी, बिजुली बत्ती, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, सामुदायिक भवन लगायतको संरचना पनि निर्माण गरिने उनले जानकारी दिए ।
सन्थाल समुदायका लागि सात विघा क्षेत्रफलमा १३२ घर निर्माण सहितको बस्ती विकास भइरहेको छ । प्रतिपरिवारलाई ३५ वर्गमिटर क्षेत्रफलमा २ वटा कोठा, एउटा भन्साकोठा, एउटा चर्पी र स्नान घर सहितको घर निर्माण गरी वितरण गरिने छ ।
उनले भने, ‘समग्रमा प्रतिघरपरिवार ८० वर्गमिटर जग्गा पर्न आउँछ । कूल १८ करोड रुपैयाँको लागतमा सो बस्ती निर्माण भइरहेको छ । अबको १८ महिनामा घर निर्माण सम्पन्न भई बढीमा २ वर्षभित्र घर उहाँहरूलाई वितरण भइसक्ने छन् ।’ जम्मा १२६ घर निर्माण गरिने छ ।
सो ठाउँमा सन्थाल समुदायको कुल १३२ घरपरिवारको बसोबास रहेको छ । राष्ट्रिय जनगणना–२०६८ अनुसार मुलुकभरि सन्थाल समुदायको कूल जनसंख्या करीब ५२ हजार रहेको छ । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।