सिमकोट । हुम्लाको सदरमुकामा रहेको सिमकोट गाउँपालिकाले गाउँपालिका स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता कार्यदल गठन गरेको छ । मङ्गलबार जिलला प्रशासन कार्यालयमा बसेको बैठकले सबै क्षेत्रलाई समेट्ने गरि पन्ध्र सदस्यीय कार्यदल गठन गरेको जानकारी प्राप्त भएको छ ।
गाउँपालिका भित्रको खानेपानी तथा सरसफाईका क्षेत्रमा गरिने कामको सहजिकरणका लागि मङ्गलबार कार्य दल गठन गरिएको छ । सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)को अध्यक्षतामा कार्यदल गठन गरिएको सुस्वा परियोजनाका फिल्ड संयोजक धुर्बबहादुर शाहीले बताउनुभयो । कार्यदलको उपाध्यक्षमा गाउँपालिका उपाध्यक्ष शुशिला रोकाया (भाम), स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दलहरु, उद्योग बाणिज्य संघ लगाएत पन्ध्र सदस्यीय कार्यदल गठन गरिएको छ ।
यसअघि गाउँपालिका स्तरीय कार्यदल गठन गरिएको थिएन । अब कार्यदल गठन भएको र यसवाट काम गर्न सहज हुने संयोजक शाहीले बताउनुभयो । कार्यदल गठन भएसंगै पहिलो काम सिमकोट विमानस्थल र बजार क्षेत्रको बुधबार बिहान सरसफाई गरिने भएको छ । यसका लागि कार्यदल, सुरक्षाकर्मी, गाउँपालिका र व्यापारीहरुको सहभागिता रहने भएको छ । सिमकोट विमानस्थल र बजार क्षेत्रको सरसफाईका लागि सदरमुकाममा रहेका होटेल, पसल व्यवसायीलाई सहभागी हुन हुम्ला उद्योग बाणिज्य संघले आग्रह समेत गरेको अध्यक्ष राम बहादुर भण्डारीले बताउनुभयो ।
यस्तै आजै भएको कार्यदल गठनमा सिमकोट गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष रोकाया, सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी, सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया, प्रहरी निरीक्षक, नरेन्द्र चन्द, हुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष भण्डारी, स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंह लगायतको सहभागीता रहेको थियो ।