सिमकोट । नेपाली कांग्रेस हुम्लाको बुधबार बसेको बैठकले जिल्ला कार्य समितीको बैठकले जिल्ला कार्यसमितिका सबै पदाधिकारी र सदस्य नियमीत तीन बैठकमा उपस्थित नभए स्पष्टीकरण सोध्ने र चित्त नबुझे आवश्यक कारबाही गर्ने निर्णय भएको बताइएको छ । बैठकले यसअघि जिल्ला कार्यसमितिका सबै पदाधिकारी र सदस्य नियमित तीन बैठकमा उपस्थित नभए कारवाही गर्ने निर्णयलाई समीक्षा गर्दै सबैभन्दा पहिले पदाधिकारीबाट यसको कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
अब पार्टीका पदाधिकारी नियमित तीन बैठकमा उपस्थित नभए पार्टीले स्पष्टीकरण सोध्ने र चित्त नबुझे आवश्यक अन्य कारबाही अगाडि बढाउने निर्णय गरेको छ । पार्टीको जिम्मेवार पदमा रहने पदाधिकारीसमेत पार्टीको नियमित बैठकमा उपस्थित नहुन थालेपछि कांग्रेसले यस्तो निर्णय गरेको हो । यो नियम पदाधिकारीलाई मात्र नभएर जिल्ला कार्यसमितिका सदस्यलाई समेत लागू हुनेछ ।
नेपाली कांग्रेस हुम्लाले आफ्नो वार्षिक कार्ययोजना बनाएर त्यसलाई कार्यान्वयन गर्ने भएको छ ।
साउन २ गते बसेको कांग्रेसको नियमित बैठकले उक्त निर्णय गरेको हो । जिल्ला कार्यसमितिको बैठकले तत्काल वार्षिक कार्ययोजना निर्माण गरेर कार्यान्वयन गर्ने निर्णय भएको बैठकका सहभागी काँग्रेस उपसभापति वसन्त रोकायाले बताउनुभयो । उहाँले नयाँ आर्थिक वर्ष समेत सुरु भएको कारण पार्टीलाई चलायमान बनाउनका लागि कार्ययोजना निर्माण गर्नु उपयुक्त भएको बैठकले ठहर गरेको उहाँले बताउनुभयो । बैठक कांग्रेस कार्याबाहक सभापति कैलाश भण्डारीको सभापतित्वमा सञ्चालन भएको थियो । बैठकमा उपसभापति रोकाया, सचिव कृष्णबहादुर बोहरा, कोषाध्यक्ष बबिता शाही र जिल्ला कमिटीका सदस्यहरुको उपस्थिति थियो ।