सिमकोट । हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकाका लक्षित वर्गका कृषकलाई निःशुल्क ग्रिन हाउस निर्माणका लागि पाल सहयोग गरिएको छ । लामो समयदेखि जिल्लामा कृषि, स्वास्थ्य, शिक्षा लगायत विभित क्षेत्रमा काम गर्दै आएका दुई संस्थाले ग्रिनहाउस सहयोग गरेका हुन् ।
गुडनेवर्स इन्टरनेशल नेपालको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लाको सहकार्यमा सिमकोट गाउँपालिका वडा नम्बर दुई ठेहे, वडा नम्बर चार हिल्दुम, बुराउसे, पाँच तल्लो गाउँ र वडा नम्बर ६ माथिल्लो गाउँका कृषकलाई उक्त सामग्री सहयोग गरिएको हो ।
मष्टदेव कृषि सहकारी संस्था ठेहेमा आवद्ध दश जना, पञ्चमुखी दुधेदह कृषि सहकारी संस्था सिमकोट तल्लो गाउँ, माथिल्लो गाउँ, हिल्दुम र बुराउँसेका ११ जना कृषकलाई बेमौसी तरकारी उत्पादनका लागि ग्रिन हाउस सहयोग गरिएकोे स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लाका सहकारी व्यवसायी विकास अधिकृत रमेश बहादुर शाहीले जानकारी दिनुभयो ।
यस्तै खार्पुनाथ गाउँपालिका वडा नम्बर चारमा रहेको दुधकुण्ड महिला विकास बहूदेशिय सहकारी संस्थामा आवद्ध माजा, छिप्रा र नल्ना गाउँका २३ किसानलाई पनि तरकारी उत्पादनका लागि उक्ता ग्रिन हाउस सहयोग गरिएको स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लाका प्रमुख गोविन्द शाहीले बताउनुभयो ।
सिमकोट र खार्पुनाथ गाउँपालिकामा रहेका कृषकलाई दोस्रो सिजनमा विभिन्न तरकारी बन्दा,काउली, टमाटर, प्याज, फर्सि, गाँजर, धनियाँ र काख्रा उत्पादनका लागि ग्रिन हासयन सहयोग गरिएको हो । एकिकृत सामुदायिक विकास परियोजना अन्तर्गत प्रवद्र्धित सहकारी संस्थामा आवद्ध रहेका कृषकहरुको जिविकोपार्जन सुधार वातावरण मैत्री तवरले तरकारी उत्पादन गरी उत्पादकत्व बढाउनका लागि विभिन्न समयमा विभिन्न तरकारी विउका साथै कृषि सामग्री सहयोग गर्दै आएको बताइएको छ ।