सिमकोट । हिमाली जिल्ला हुम्लामा लाग्ने प्रसिद्ध चाड साउने पूर्णिमा मेला नजिकएसँगै सदरमुकामको सिमकोट बजारमा यतिबेला नागरीहरुको भिड लाग्नुका साथै चहलपहल बढेको छ ।
सदरमुकाम आसपासका नागरीक यतिबेला नयाँ कपडा, खाद्यान्न लगायतका सामग्री खरिदका लागि पुगेसँगै चहलपहल बढेको पाइएको छ । आफ्नो घर परिवारको नयाँ कपडा र देवि देवताको लागि पूजापाठको सामान खरिदका लागि नागरीकको बजार क्षेत्रमा ताति नै लाग्ने गरेको छ ।
विशेष गरेर आफ्नो घर परिवार बसेर मिठो मसिनो खाने र नयाँ नयाँ कपडाको साथमा सजिने चाडका रूपमा पनि साउने पूर्णिमा मेला लाई लिने गरिन्छ । साउने पुर्णिमा मेला आउन केही दिन मात्रै बाँकी रहेको छ । जिल्लाका अन्य क्षेत्रमा भने चतुर्थी र पूर्णिमाका दिनमा मात्र मनाउने गर्छन् भने यो पर्व सिमकोटमा त्रियादशीदखि पञ्चमी पाँच दिनसम्म लाग्ने गर्दछ ।
जिल्लाका सातवटै स्थानीय तहबाट सिमकोटमा मेला हेर्न नागरीकहरु आउने गर्दछन् । यो पर्वको अवसरमा धामिझाँक्री नाच्ने र देउडा खेल्ने गर्दछन् । यो समय स्थानीय पसलमा पनि लाखौँको कारोबार हुने गरेको छ । नयाँ कपडा, दैनिक उपभोग्य वस्तुलगायत सामान यो समयमा निक्कै बिक्री हुने गरेको सदरमुकामको एकताचोकमा रहेको दार्मेली पसलका सञ्चालक लक्ष्मण ऐडीले बताउनुभयो । व्यापारीहरुलाई पनि सामान बेचबिखनका लागि भ्याइनभ्याइ भएको पसले ऐडीले बताउनुभयो ।