सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका नागरीक झण्डै महिना दिनदेखि टेलिफोन सेवाबाट बन्चित भएका छन् । यति लामो सयमसम्म अवरुद्ध भएको टेलिफोन सेवा मर्मतका लागि सम्बन्धित पक्ष नेपाल टेलिकम हुम्लाले व्यवास्था गरेको यहाँका नागरीकको गुनासो छ । राया गाउँको ठानाकोटमा रहेको नमस्ते टेलिफोन सेवा अवरुद्ध हुँदा खार्पुनाथ गाउँपालिकाको चार वटा वडाका सेवाग्राही मर्कामा परेका छन् ।
महिना दिनदेखि दिनदेखि टेलिफोन सेवाले काम गर्न छोड्दा यहाँका नागरिकले जिल्ला बाहिर र सदरमुकाम लगायत छिमेकी गाउँपालिकामा भएका आफन्तसँग टेलिफोनमा जोडिन नसकेको स्थानीय टेक बुढाले बताउनुभयो । यसरी महिना दिनसम्म मर्मतका लागि टेलिकम हुम्लाले व्यवस्था गर्दा यहाँका नागरीक सञ्चार सेवाबाट बन्चित हुनु परेको छ ।
ठानकोटमा विग्रीएको टावरलाई मर्मतका लागि वडाध्यक्ष च्यागा बोहरा एक हप्ताअघि नेपाल टेलिकममा पुगेर मर्मतका लागि अनुरोध गर्दापनि कुनै सुनुवाई हुन् नसकेको बताइएको छ । वडाध्यक्ष बोहरा पुग्दा नेपाल टेलिकमले हप्तादिन भित्र मर्मतका लागि कर्मचारी पठाउँछु भनेपनि आजसम्म नपठाएको रायाका नागरीकको गुनासो छ ।
यता नेपाल टेलिकम हुम्लाका निमित्त प्रमुख रिन्जीन लामाका अनुसार, मर्मतका लागि प्राविधिक पठाउने भनेपनि केही कर्मचारी परीक्षा दिन गएका कारण पठाउन नसकिएको बताउनुभयो । महिना दिनसम्म रायाका नागरीकले नमस्ते टेलिफोन सेवामा जोडिन नसकेको निमित्त प्रमुख लामाले स्विकार गर्नुभयो । अवरुद्ध भएको टावर मर्मतका लागि केही दिनमा एक, दुई जना कर्मचारीले पठाउने बताउनुभयो ।
रायाको ठानाकोटमा रहेको टावरमा जडान गरिएको सोलारको जस्ता पाताले काम नगर्दा टेलिफोन सेवा अवरुद्ध भएको राया गाउँका स्थानीयले गुनासो गरेका छन् । सोलार पुरानो हुँदा यहाँका सेवाग्राहीले पटक पटक फोन सेवाबाट बन्चित हुनु पर्ने गरेको बुढाले बताउनुभयो ।
गाउँमा एक मात्रै सञ्चारको माध्यम टेलिफोन भएपनि महिना दिनदेखि नबन्दा यहाँका नागरीक अन्यत्र रहेका आफन्तसँग फोन सम्पर्कमा जोडिन नसकेका हुन् । गाउँ नजिकै रहेको टावरमा खराबी आउँदा दुई घण्टाको टाढा अग्लो डाडामा गएर फोन सम्पर्कमा जोडिनु परेको बुढाको भनाई छ ।
यस्तै वडा नम्बर एक लाली, पिउस, वडा नम्बर दुई थाली, वडा नम्बर तीन राया, र वडा चार याङचु गाउँका सेवाग्राही टेलिफोन सेवाबाट बन्चित रहेका छन् । यी चारवटा वडाका झण्डै दुई हजार बढी सेवाग्राही टेलिफोन सेवाबाट बन्चित रहेका छन् ।
धेरै वर्ष पुराना सोलार भएकाले बेला बेलामा अवरुद्ध हुँदै आएको छ । टावर जडान गरिएको स्थानमा विद्युत पुगेको भएपनि टावरमा विद्युत जडानका लागि वडा र गाउँपालिकाले बेवास्ता गरेको यहाँका नागरीकको गुनासो छ ।