सिमकोट । शनिवार आएको अविरल वर्षाले कक्षा कोठामा पानी पस्दा आइतबार सदरमुकाममा रहेको बालमन्दिर माध्यामिक विद्यालयका विद्यार्थीले चौरमा पठनपाठन गरेका छन् ।
कक्षा एक, तीन र पाँचका ऐच्छिक विषयका विद्यार्थीलाई आइतबार चौरमा राखेर पठनपाठन गराउन बाध्य भएको सोही विद्यालयका प्रधानध्यापक कैलाश रोकायाले बताउनुभयो । राती आएको अविरल वर्षाले कक्षा कोठाभरी पानी पसेपछि विद्यार्थीलाई बस्न नमिल्ने हुँदा चौरमा डेस्क, बेन्च ल्याएर पठनपाठन गराएको प्रधानध्यापकले बताउनुभयो ।
वर्षायाममा पानी पर्दा यि कक्षाका विद्यार्थीले प्राय जसो चौरमा पठनपाठन गर्दै आउनु परेको विद्यालय प्रशासनले जनाएको छ । सधै पानी पर्दा विद्यार्थीले चौरमा पठनपाठन गर्नु पर्ने बाध्यताको अन्त्य गर्न विद्यालयले सिमकोट गाउँपालिकालाई आग्रह गरेको छ । पानी पर्दा विद्यार्थीले भोग्नु पर्ने समस्या अन्त्य गर्न आग्रह गरिएको हो । राती पानी पर्दा कक्षा कोठामा पानी पसेर असर गर्दा दिउँसो विद्यार्थीलाई खुल्ला आकाशमुनीको चौरमा पठनपाठन गराउँदा बजारको हो हल्लाले थप समस्या हुने गरेको बताइएको छ ।
यस्तै सिमकोट गाउँपालिका–७ मा रहेको जबुका गाउँमा समेत शनिवार राती परेको अविरल परेको वर्षाले समस्या बनाएको स्थानीयले बताएका छन् । शनिवार राती परेको वर्षाले डाँडाफयाको खेल बस्ति देखि औल बस्तिसम्म आवतजावत गर्ने बाटो जबुका खोलाको बाटो अवरुद्ध भएर बन्द हुँदा पशुवस्तु र मानिसलाई आउजाउ गर्न थप समस्या बनाएको जानकारी प्राप्त भएको छ । साविक वडा नम्बर १ र २ का बासिन्दालाई गौरा पर्वको मुखैमा देखि औलसम्म झर्न समस्या बनाएको छ । भने छोटो दुरीको बाटो अविरल वर्षाले बन्द गर्दा लामो दुरी दुई घण्टाको बाटो हिड्नु पर्ने स्थानीयले बताएका छन् ।