सिमकोट । मंलबार सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीको नेतृत्वमा हुम्लाको सदरमुकाममा रहेका दशवटा पसलको अनुगमन गरिएको हो । बजार अनुगमनका क्रममा तीनवटा पसल कारबाहीमा परेका छन् । कारबाहीमा परेका तीनवटा पसल व्यवसायीलाई रु पाँच हजारका दरले कारबाही स्वरुप अनुगमन टोलीले जरिवाना लिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो । विश्व जनरल स्टोर, किमोज स्टोर र नाम्खा खिम्जुङ जनरल स्टोरलाई पाँच हजार जरिवाना गरिएको जानकारी प्राप्त भएको छ ।
कारबाहीमा परेका तीनवटै पसलहरुले साइनवोर्ड नराखेको हुँदा जरिवाना तोकिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्री बहादुर विष्टले जानकारी दिनुभयो । अन्य सातवटा पसलहरुमा साइनबोर्ड लगायतका म्याद ननाघेका भेटिएको कार्यालयका प्रमुख विष्टले बताउनुभयो । बजार अनुगमनका क्रममा एक, दुई पसलमा म्याद गुज्रेका सामान बरामद गरिएको थियो । अनुगमनमा विभिन्न पसल व्यवसायीलाई साइनबोर्ड राख्न, म्याद गुज्रेका सामग्रि विक्रि वितरण नगर्न सुक्राव समेत दिइएको थियो ।
मंगलबार गरिएको अनुगमनमा सदरमुकाममा सञ्चालीत साना पसलहरुको अनुगमन गरिएको हो । आजै भएको अनुगमनमा सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया (भाम), उद्योग बाणिज्य संघ हुम्लाका अध्यक्ष राम बहादुर भण्डारी, नेपाल पत्रकार महासंघ जिल्लाका अध्यक्ष राजन रावत, सुरक्षाकर्मी, अन्य सम्बन्धित कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थित अनुगमन गरिएको हो ।